काठमाण्डु – कृषिमन्त्री रामनाथ अधिकारीले लगभग ९० करोड रुपैयाँ दुग्ध विकास संस्थाले कृषकलाई भुक्तानी गर्न बाँकी रहेको भन्दै अबको १० दिनमा समाधान निकाल्ने बताएका छन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले साढे ३ अर्बभन्दा धेरै कृषकहरूको पैसा सरकारी, निजी, साझेदारी र व्यक्तिगत फर्मवालाहरूले तिर्न बाँकी रहेको बताए ।
उनले भने, ‘दूधको समस्या छ । १० दिनपछि केही खुशी अनुहार लिएर आउन सक्छौं होला । १० पछि केही राम्रा कुराहरू लिएर आउन सक्छौं होला । लगभग ९० करोडको हाराहारीमा दुग्ध विकास संस्थाले किसानको पैसा तिर्नुछ । समग्रमा साढे ३ अर्बभन्दा धेरै कृषकहरूको पैसा सरकारी, निजी, साझेदारी र व्यक्तिगत फर्मवालाहरूले तिर्न बाँकी छ । सत्य कुरा बोल्नुपर्छ ।’
उखु किसानको लागि अर्थ मन्त्रालयमार्फत दामासाहीका हिसाबले रकम निकासा भएको उनले बताए । ‘उखुको कुरा गर्दा गत वर्षको बजेट सिलिङका अनुसार ३५ रुपैयाँ पुग्यो, दामासाहीका हिसाबले दिने कुरा छ । ३५ रुपैयाँका हिसाबले किसानहरूको खातामा केही दिनमा पुग्छ । अर्थ मन्त्रालयमार्फत निकासा भइसकेको छ । त्यसभन्दा बढी म बोल्दिनँ,’ उनले भने ।
बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले सार्वजनिक खरिद नियमावलीको १४औं संशोधनले रासायनिक मल सम्बन्धी छुट्टै दफाको व्यवस्था गरेकाले सहजीकरण भएको बताए ।




प्रतिक्रिया