काठमाडौं – सांसद रामप्रीत पासवानले प्याजको मूल्य वृद्धि भएको भन्दै आपत्ति जनाएका छन् । उनले ‘प्याज खान स्वास्थ्यका लागि हानिकारक’ भएको बताउँदै सूचना जारी गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपाली जनताले प्याज खाने अवस्था नरहेको उल्लेख गरेका हुन् ।
‘प्याज २०० प्रतिकेजी माथि पुगेको छ’, उनले भने, ‘सरकारबाट अब ‘प्याज खानु स्वास्थ्यका लागि हानीकारक छ’ भनेर सूचना जारी गरियोस् ।’
सांसद पासवानले देशमा समृद्धि नेता र कर्मचारीलाई मात्रै आएको बताए । ‘समृद्धि नेता र कर्मचारीलाई आयो, हिजोका सर्वहारा नेता महलमा आसिन छन्’, उनले भने, ‘जनताको घरमा गरिबी उस्तै छ । जनताले आलु पनि किन्न सकिरहेका छैनन् । जनता त्रसित छन् । अनि समृद्धिको नाममा सरकारले केमा नाक फुलाउँदैछ ?’
कुनै पनि देशमा समृद्धिको कुरा गर्दा तीनवटा शर्त पूरा हुनुपर्ने उनको तर्क थियो । ‘समृद्धिका लागि विभेद र भ्रष्टाचारको अन्त्य हुनुपर्छ । युवालाई देशमा रोजगारी नदिएसम्म समृद्धि बेकारका गफ मात्रै हुन् । त्यति नभए जनताको मुहारमा खुसी आउन सक्दैन ।’




प्रतिक्रिया