कञ्चनपुर – गृहमन्त्री रमेश लेखकको गृहजिल्ला कञ्चनपुरमा भएको हरकिसन राना हत्याकाण्ड रहस्यमै रहेपछि न्याय माग्दै आन्दोलन जुर्मुराएको छ ।
बेलौरी नगरपालिका–१० निर्मल आर्यघाटनजिक मोटरसाइकलसहित जलेको अवस्थामा हरकिसनको शव फेला परेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान नगरेको भन्दै मृतक परिवारले गुनासो गरेका छन् ।
न्याय माग्दै मृतक परिवार र स्थानीयले ईलाका प्रहरी कार्यालय बेलडाँडीमा नाराबाजी गर्दै आन्दोलन गरेका छन् । आन्दोलनमा सहभागी मृतककी छोरी लक्ष्मी रानाले भनिन्, ‘हामी रानाथारु सोझासाझा भएकाले हामीलाई हेपाहा दृष्टिकोणले हेरिएको छ । दोषीलाई सरकार र प्रहरी प्रशासनले संरक्षण गरिरहेको छ ।’
हरकिसनको शंकास्पद मृत्यु भएको ४ महिना भइसक्दा समेत प्रहरीले अनुसन्धानमा तदारुकता नदेखाएको मृतक परिवारको आरोप छ ।
भैंसी पालेर जीविकोपार्जन गर्ने किसान रानाको शंकास्पद मृत्यु रहस्यमयमै रहेपछि स्थानीय त्रसित बनेका छन् । गत वैशाख ९ गते बिहान बेलौरी नगरपालिका–१० निर्मल आर्यघाटनजिक उनको शव फेला परेको थियो ।
ईलाका प्रहरी कार्यालय बेलडाँडी घेराउ गर्दै सडक आन्दोलनमा उत्रिएका स्थानीयले सरकार र प्रहरीलाई शंकाको दृष्टिले हेरेका छन् । उनकी छोरी लक्ष्मीका अनुसार मृतक हरकिसनले बारम्बार गंगाजमुना गाईभैंसीपालन समूह र परिवारलाई आफुलाई ज्यान मार्ने धम्की आएको कुरा सुनाएका थिए । तर प्रहरीले शंका गरिएको व्यक्तिलाई समात्नुको सट्टा परिवारकै सदस्यमाथि धम्क्याइरहेको आरोप छ ।
हरकिसनको मृत्युपछि एकातिर घरपरिवारमा त्रास छ भने अर्काेतिर आम्दानीको स्रोत नभएपछि जीविकोपार्जनको समस्या देखिएको छ । प्रहरीले अनुसन्धान टुंगो नलगाउँदा उनको बिमा रकम समेत अड्किएको परिवारको गुनासो छ ।
प्रहरीले भने अनुसन्धान जारी रहेको प्रतिक्रिया दिने गरेको छ । गृहमन्त्री लेखकको गृहजिल्लामै ज्यान मरेको घटनामा न्यायका लागि आन्दोलनमै उत्रिनुपर्ने अवस्था आएको छ ।




प्रतिक्रिया