काठमाण्डु – नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले राजनीतिक लाभका लागि खोपको व्यापार नगर्ने स्पष्ट पारेका छन् ।
सोमबार अमेरिकाबाट १५ लाखभन्दा बढी डोज खोप आएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै राजदूत बेरीले जीवनसँग जोडिएको विषयमा राजनीतिक लाभका लागि खोपको व्यापार नगर्ने स्पष्ट पारेका हुन् ।
‘म यो स्पष्ट पार्न चाहान्छु यो अमेरिकी जनताकोतर्फबाट निःशुल्क उपहार हो । राजनीतिक लाभका लागि हामीले खोपको व्यापार गर्नेछैनौं । यो जीवन रक्षासँग जोडिएको विषय हो’, उनले भनेका छन् ।
राजदूत बेरीले कोभिडविरुद्धको पूर्णखोपका लागि जोन्सन एण्ड जोन्सनको एउटै मात्रा लगाए पुग्ने स्पष्ट पारेका छन् । उनकाअनुसार कोभ्याक्समार्फत आज अमेरिकाबाट प्रारम्भिक अनुदान सहयोगस्वरुप प्राप्त यो खोप नेपालका १५ लाख भन्दा बढी मानिसको सुरक्षाका निम्ति पर्याप्त रहेकाे छ ।
यो खोप नेपालको जनसंख्याको लगभग ५ प्रतिशत भएको दूतावासको दाबी छ । राजदूत बेरीले झण्डै ७५ वर्षदेखि नेपाल अमेरिकाको सबैभन्दा नजिकको साझेदार रहँदै आएको स्मरण गरेका छन् ।
‘ इतिहासकै यस पृथक चुनौतीको घडीमा आज हाम्रो साझेदार सदाभन्दा झन् महत्वपूर्ण बनेको छ । मलाई गर्व छ कि अमेरिका नेपालको कोभिड –१९ प्रतिकार्यमा जारी सहयोग प्रदान गर्ने सबैभन्दा ठूलो दातृराष्ट्र हो’, राजदूत बेरीले भनेका छन्, ‘हामी नेपाली जनताको जीवनस्तर सुधार गर्ने कार्यमा मद्धत गर्न चाहान्छौं । यस चुनौतीपूर्ण घडीमा हामी नेपाली जनताको साथमा छौं ।’




प्रतिक्रिया