रानीजमराको निरीक्षण गर्दै ऊर्जामन्त्रीले भने– गुणस्तरमा कुनै सम्झौता हुँदैन


काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले कैलाली चिसापानीको कर्णाली नदीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिंचाइ आयोजनाको निरीक्षण गरेका छन्।

बुधबार आयोजनाको मुहान क्षेत्रमा पुगेका ऊर्जामन्त्री पुनले आयोजना सम्पन्न गर्नको लागि आवश्यक सहयोग र समन्वय गर्न प्रदेश सरकार र स्थानीय सरकारलाई समेत आग्रह गरे। उनले मन्त्रालयको तर्फबाट सहजीकरण र आवश्यक गर्नुपर्ने सहयोग गर्न सरकार तयार रहेको बताए।

कर्मचारीलाई कामको आधारमा दण्ड र पुरस्कार हुने उल्लेख गर्दै मन्त्री पुनले कामको गुणस्तरको विषयमा कुनै सम्झौता नहुने बताए। मन्त्री पुनले समयमै काम नसक्ने ठेकदारलाई कारबाही समेत गरिने चेतावनी दिए।

मन्त्री पुनले बुधबार नै बर्दियास्थित राजापुर सिंचाइ आयोजनाको निरीक्षण गरे। यसअघि उनले बाँकेको अगैयास्थित सिक्टा सिंचाइ आयोजनाको बाँध तथा नहर, बर्दियाको भेरी–बबइ डाइभर्सन, पश्चिम राप्ती जनताको तटबन्धनको प्रगतिको जानकारी लिएका थिए।

आयोजनाको हाल चिसापानीमा इन्टेक तथा लिंक नहर निर्माण सम्पन्न भएको, चिसापानीदेखि बलचौरसम्म मूल नहर तथा सेटलिङ बेसिन निर्माण र कटासेदेखि मोहनासम्म फिडर नहर निर्माण सम्पन्न भएको छ ।

रानी जमरा कुलरिया सिंचाइ आयोजना निर्माणका लागि नेपाल सरकारको ६ अर्ब र विश्व बैंकको ६ अर्ब गरी १२ अर्ब रुपैयाँको लगानी रहेको छ।

आव २०६४-६५ मा शुरू भएको सो आयोजना आव २०७४-७५ मा सम्पन्न गर्ने लक्ष्य थियो। तर, म्याद थप गरी २०७६÷०७७ मा निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको छ।

रानी जमरा कुलरिया सिंचाईं आयोजनाबाट कैलालीका पथरैया, मुनुवा, टीकापुर, नारायणपुर, धनसिंहपुर लगायतका क्षेत्रमा २५ हजार हेक्टर बढी जमिनमा बाह्रैमहिना सिंचाइ सुविधा उपलब्ध हुनेछ। आयोजनाबाट ४ दशमलव ८ मेगावाट विद्युत उत्पादन हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement