काठमाण्डु – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाअभियोग लगाउन माग गरेका छन् ।
अनेरास्ववियूका सह–संयोजक रन्जित तामाङले श्रीमती हत्या आरोपमा जेलमा रहेका सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइरालालाई कैद मिनाहा गर्ने प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र न्यायाधीश तेजबहादुर केसीलाई महाअभियोग लगाउन माग गरेका हुन् ।
त्यस्तै उनले विद्यार्थी सङ्गठनसँग छलफल गरेर मात्र पढाइ र परीक्षा तालिका विषयमा निर्णय गर्न विभिन्न विश्वविद्यालयसँग आग्रह गरेका छन् । बन्दाबन्दी खोले लगतै विभिन्न विश्वविद्यालयले हठात् परीक्षा तालिका सार्वजनिक गरेकाप्रति ध्यानाकर्षण भएको जनाउँदै विद्यार्थीसँगको छलफल गरेर मात्र पढाइ र परीक्षाको कार्यतालिका सार्वजनिक गर्न आग्रह उनले गरेका हुन् ।
‘बन्दाबन्दीको बेला आआफ्नो घर गएका टाढाटाढासम्मका विद्यार्थीको आफ्नो शिक्षण संस्थामा फर्कने समय र परीक्षाको न्युनतम तयारीको समयलाई पटक्कै ख्याल नगरी सार्वजनिक गरिएको परीक्षा तालिका अव्यवहारिक र असान्दर्भिक रहेको प्रष्ट छ’, उनले भनेका छन्, ‘लकडाउनले सिर्जना गरेका अनेक समस्याले तनावग्रस्त भएका विद्यार्थीलाई यसले थप मानसिक तनाब दिएको छ । परीक्षा र पठनपाठन छिटो गर्ने नाममा न्यूनतम व्यावहारिक पक्षलाई हेक्का नराखी गरिएको अव्यावहारिक निर्णय तत्काल स्थगत गर्न आग्रह गर्दछौँ ।’
उनले विद्यार्थीको कोभिड–१९ को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था गर्न माग गरेका छन् ।




प्रतिक्रिया