पोखरा – माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङले प्रधानमन्त्री केपी ओली मुलुकका लागी कोभिड भन्दा घातक रहेको आरोप लगाएका छन् ।
अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशद्वारा सोमबार पोखराको पृथ्वी चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले प्रधानमन्त्रीमाथि उक्त आरोप लगाएका हुन् ।
प्रधानमन्त्री ओलीले नेकपा माअोवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डलाई पदिय मर्यादा र हैसियत भन्दा निकै तल उत्रेर अराजनीतिक र अनैतिक आरोप लगाउने गरेको भन्दै तामाङले प्रधानमन्त्री ओली नै मुलुकको समस्या रहेको दावी गरे ।
प्रधानमन्त्री ओलीले सोमबार एक सञ्चार माध्यममा अन्तर्वार्ताका क्रममा प्रचण्ड नेपाली राजनीतिको समस्या रहेको आरोप लगाएका थिए । अध्यक्ष तामाङले केपी ओली पदबाट हटेको दिन मुलुकको राजनीतिले शहि दिशा लिने दावी गरे ।
उनले भने, ‘यो मुलुकको मुख्य समस्या केपी ओली स्वयम् हुन् । उनले बालुवाटार छाडेको दिन मुलुकको राजनीति स्वतः ठिक ठाउँमा पुग्नेछ ।’
साथै सोही कार्यक्रममा प्रमुख अथितिका रुपमा बोल्दै पूर्वमन्त्री तथा नेकपा माओवादी(केन्द्र)का स्थायी कमिटी सदस्य हितराज पाण्डेले पार्टीमा फेरि एकपटक सबैले जनयुद्धको समयमा जस्तै योगदान र मेहनत गर्नुपर्ने बताएका छन् । पार्टी र आन्दोलनले खास खास समयमा बिशेष योगदानको माग गर्ने भन्दै नेता पाण्डेले त्यो समय आइसकेकोले तयार रहन कार्यकर्तालाई अपिल गरे ।
कान्तिकारीका पूर्व महासचिव तथा बेपत्ता योद्धा ‘पूर्ण पौडेल स्मृती बिस्तारीत बैठक’ नाम दिइएको कार्यक्रममा वेपत्ता योद्धा पूर्ण पौडेलकी बहिनी तेजु पौडेलले पनि धारणा राखेकी थिइन् ।
अखिल क्रान्तिकारी गण्डकी प्रदेशभरका नेता कार्यकर्ता उपस्थित बैठकलाई बरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत, संगठनका प्रवक्ता जीपी मैनाली, सचिवद्वय क्षितिज सापकोटा र प्रविना अधिकारी, कोषाध्यक्ष केशव रावल लगायतले सम्बोधन गरेका थिए ।




प्रतिक्रिया