मेडिकल माफियासँग सरकार डरायोः रञ्जित तामाङ

मेडिकल माफियासँग सरकार डरायोः रञ्जित तामाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मेडिकल कलेज सञ्चालकहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् ।

केही समयअगाडि वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजले अवैध शुल्क लिएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि कलेज सञ्चालकबाटै कुटपिट भयो । अवैध शुल्क फिर्ताका लागि आन्दोलन गर्न गएका विद्यार्थी कलेज सञ्चालकको निर्देशनमा कुटिए पनि सरकारले कुटपिट गर्नेमाथि कारबाहीसम्म गर्न सकेन ।

उक्त कलेजमा अध्यनरत विधार्थीहरुले सरकारले तोकेको भन्दा १२ लाख बढी शुल्क लिएको बताएका छन् । त्यस्तै अन्य मेडिकल कलेजहरुले पनि सरकारले तोकेको भन्दा बढी शुल्क लिने गरेको पाइएको छ ।

विद्यार्थी संगठनहरुले कलेजले लिएको अवैध शुल्क फिर्ताको माग गर्दै आएपनि अझैसम्म त्यो कायान्वयनमा आउन सकेको छैन् । सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले विद्यार्थीको हकहितका लागि जुनसुकै कदम चाल्न आफुहरु तयार रहेको बताए ।

चिकित्सा शिक्षालाई व्यवस्थित गर्नका लागि सरकारले आयोग गठन गरे पनि आयोगले प्रभावकारी ढंगले काम गर्न नसकेको सहसंयोजक तामाङ स्वीकार गर्छन् ।

‘सरकराले गठन गरेको आयोगले टुलुटुलु हेरेर बस्ने होइन नि ! आयोगले माफियातन्त्रलाई रोक्ने हो’, काठमाडौंपाटीसँग कुरा गर्दै सहसंयोजक तामाङले भने, ‘हामी अहिले एकता प्रक्रियामा छौं । एकता सम्पन्न भइनसकेको हुनाले संगठनको औपचारिक कार्यक्रम बनाएर हामी नबोलेको हो । व्यक्तिगत हिसाबले हामीले निरन्तर आवाज उठाइरहेका छौं ।’

सहसंयोजक तामाङले मेडिकल माफियासँग सरकार डराएको आरोप लगाए । मेडिकल माफियाहरुसँग विद्यार्थी संगठन डराएको आरोप लाग्यो नि ! भन्ने प्रश्नमा उनी विद्यार्थी संगठनले निरन्तर खबरदारी गर्दैआइरहेको र सरकार मेडिकल माफियासँग डराएको बताए । उनले मेडिकल क्षेत्रलाई व्यवस्थित गर्न बनेको आयोगले नियमित काम गर्न नसकेको बताए ।

‘प्रधानमत्रीको नेतृत्वमा बनेको आयोगले नियमित काम गर्नुपर्दैन ? मेडिकल क्षेत्रमा देखिएका समस्यालाई गर्नुपर्छ । यदी नीतिगत छ भने नीतिगत समाधान खोज्ने, व्यवहारिक समस्या छ भने व्यवहारिक समस्या समाधान गर्ने र मेडिकल कलेज सञ्चालकहरुले पटक–पटक विद्यार्थीहरुलाई सरकराले तोकेको मापदण्ड सरकारले तोेकेको शुल्क, सरकारले तोकेको नियमभन्दा बाहिर जान नदिइकन त्यसलाई नियन्त्रण गर्ने, अनुगमन गर्ने त्यसलाई पारदर्शी र व्यवस्थित बनाउने हो,’ उनले भने, ‘मेडिकल माफियाहरुले ट्र्याक छोड्दा तीनलाई ट्रयाकमा ल्याउने काम सरकार र सरकारको निकायको होइन ? मेडिकल क्षेत्रलाई व्यवस्थित गर्नका निम्ति आयोग बनेको छ । आयोगले नियमित काम गर्दा यो समस्या समाधान हुन्छ नि !’

सहसंयोजक तामाङले मेडिकल माफियाहरुले विद्यार्थीलाई विभिन्न हिसाबले शोषण गरेको बताए । विद्यार्थीमाथि हातपात गर्ने मेडिकल माफियामाथि कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुने बताए । उनले भने, ‘विद्यार्थीमाथि हातपात गर्ने मेडिकल माफियालाई कानुनअनुसार कारबाही गर्नुपर्छ । विद्यार्थीको डाक्टर बन्न पाउने अधिकार सरकारले सुनिश्चित गरिदिनुपर्छ ।’

कानुन नमान्ने मेडिकल माफियामािथ कडा हुनुपर्ने सहसंयोजक तामाङले माग गरेका छन् । ‘डन बनेर कानुन हातमा लिने, विद्यार्थीहरुलाई हातपात गर्ने , शिक्षादिक्षा होइन विद्यार्थीहरुमाथि विभिन्न ढंगले दमन गर्ने मेडिकल माफियाहरुलाई राज्यले तह लगाउनुपर्छ ।’

सरकारले काठमाडौँ भन्दा बाहिर रहेका मेडिकल कलेजले ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको भएपनि नेशनल मेडिकल कलेजले विभिन्न शीर्षकमा १२ लाख बढी शुल्क लिएको विद्यार्थीको आरोप छ ।