काठमाण्डु – पोखरास्थित लिची बगैँचा क्षेत्रको जग्गा सम्बन्धी घुस प्रकरणका आरोपी रञ्जिता श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ ।
आईतबार अदालतमा उपस्थित भएपछि न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ सम्मिलित इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २२ गते श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दामा श्रेष्ठमाथि ७८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।
अनुसन्धानका क्रममा पोखराको विवादित जग्गा सम्बन्धी निर्णय प्रभावित पार्ने उद्देश्यले रकम लेनदेन भएको आरोप लगाइएको थियो । त्यतिबेला राजकुमार गुप्ता सहितका व्यक्तिले कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीसँग आर्थिक लेनदेन गरेको तथा अन्य नियुक्ति प्रक्रियासम्बन्धी रकमको सहमति भएको अडियो सार्वजनिक भएपछि आयोगले अनुसन्धान अघि बढाएको थियो । पूर्वमन्त्री गुप्ता पुर्पक्षका लागि कारागारमा रहेका छन् ।




प्रतिक्रिया