काठमाडौं – विवेकशील नेपाली दलकी रञ्जु दर्शनासहित ११ जना पक्राउ परेका छन् । शनिबार बालुवाटारस्थित ललितानिवास अगाडि ‘भ्रष्टचारीलाई रेड कार्ड’ अभियान सञ्चालन गर्न पुगेका विवेकशीलकी दर्शनासहित ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वालुवाटारको जग्गा प्रकरणमा संलग्न रहेकाहरुलाई मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएकोले अख्तियारको ध्यानाकर्षण गराउन बालुवाटार पुगेका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको विवेकशीलकी उपाध्यक्ष अजीता राईले जानकारी दिइन् ।
उपाध्यक्ष राईले विज्ञप्ति निकालेर प्रहरी नियन्त्रणमा रहेकाहरूलाई छाड्न माग गरेकी छन् । ‘प्रदर्शनमा गएका विवेकशील नेपाली दलका ११ जना नेता, सदस्यलाई प्रहरीले नियन्त्रण गरेकोमा तत्कालै रिहा गर्न माग गर्दछौं,’ उनले भनेकी छन् ।
पक्राउ पर्नेमा संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, रन्जु दर्शना न्यौपाने, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल, प्रदिप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानु रहेको राईले निकालेको विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया