कस्तो रहला निर्मल निवाससँग कमल थापाको आगामी सम्बन्ध ?

कस्तो रहला निर्मल निवाससँग कमल थापाको आगामी सम्बन्ध ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनले अध्यक्षमा राजेन्द्र लिङ्देनलाई निर्वाचित गरेको छ । अर्का उमेद्वार कमल थापालाई हराउदै लिङ्देन बिजयी भएका हुन् । लिङ्देनले १८४४ मत ल्याएर विजयी भए भने थापाले १६१७ मत ल्याएर पराजित भए ।

निर्वाचन परिणाम स्विकार गरेतापनि थापाले असन्तृष्टि भने व्यक्त गरेका छन् । राप्रपाको निर्वाचनमा पूर्वराजा जानेन्द्र शाहको हस्तक्षेप भएको आरोप लगाएका छन् ।

पराजयपछि बसेको थापा समूहको बैठकमा उपस्थित अधिकांशले पूर्वराजा शाहले धोका दिएको निष्कर्ष निकालेका छन् । दरवारमार्गस्थित याक एन्ड यति होटेलमा थापा समूहबाट निर्वाचित पदाधिकारीसहितको प्रारम्भिक समीक्षा बैठकमा थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्ष निकालेका छन् ।

राप्रपा, कमल थापा र निर्मलनिवास:

पञ्चायत समर्थकले बहुदलमा जन्माएर दरबारको छत्रछायामा हुर्किएको दल हो– राप्रपा । राजसंस्था ढले पनि गणतान्त्रिक राज्य व्यवस्थामा त्यो पार्टीलाई टिकाइराखेर यहाँसम्म ल्याउने व्यक्ति हुन्, कमल थापा । गणतन्त्र फाल्ने, राजतन्त्र र हिन्दु राष्ट्र बनाउने एजेन्डा बोक्ने, राजा वा राजसंस्थाबारे कहिल्यै नराम्रो नभन्ने, अझै भनौं हिजोका दिनसम्म नेपालमा राजतन्त्रको सबैभन्दा ठूलो प्रवक्ता नै हुन् थापा ।

थापाले ढलिसकेको राजतन्त्रलाई पुनः फर्काउँछु र नेपाललाई हिन्दु राष्ट्र नै बनाउँछु भन्दै पछिल्लो १५ वर्षदेखि लगातार राप्रपाको नेतृत्व सम्हाल्दै आएका थिए, तर राजावादी थापालाई यसपालिको महाधिवेशनबाट युवा पुस्ताका नेता लिङदेनले पाखा लगाइदिएका छन् ।

२०६२/२०६३ को जनआन्दोलन–२ को बलमा ढलेको राजसंस्था र पन्छाइएको हिन्दु राज्य फर्काउने लक्ष्यका साथ राप्रपा स्थापना गरिएको थियो । त्यसबेला थापालाई युवा नेता लिङ्देनले बलियो साथ दिएका थिए । तर, हालै सम्पन्न महाधिवेशनबाट थापाको विरासत ढालेर र पार्टीमा आफूभन्दा कैंयन वरिष्ठहरूलाई पछि पार्दै राजतन्त्रको हिमायतीको रूपमा लिङ्देनले राप्रपामा आफूलाई उदय गराएका छन् । तर उनको आगामी यात्रा भने सोचेजति त्यति सजिलो हुनेछैन ।

राजतन्त्रप्रति बफादार, पञ्चायतकालमै त्यसको बलियो खम्बाका रूपमा स्थापित व्यक्ति हुन् थापा । तर तिनै थापालाई राप्रपाको अध्यक्षबाट हटाउन यसपालिको चुनावमा निर्मलनिवास र राजसंस्था लागेको आरोप लागेको छ ।

चुनाव हारेपछि थापा आफैंले निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहलाई मेन्सन गरेर सामाजिक सञ्जाल ट्वीटरमै ‘धन्यवाद’ दिएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्रलाई राजतन्त्र बोकेर हिँडेको पुरस्कार आज पाइयो भनेका छन् ।

‘मैले राहत र उन्मुक्ति पाएको छु । सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो,’ उनले ट्वीटरमा भनेका छन्, ‘सो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’

त्यस्तै आज बिहान बसेको अध्यक्ष लिङदेन, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर राणाबाहेकका अन्य विजयी पदाधिकारीसहितको समीक्षा बैठकले पूर्वराजा शाहले धोका दिएको निष्कर्ष निकालेको सहभागी एक नेताले बताए ।

‘पूर्वराजाले सचिवालय प्रयोग गरेर कमल थापालाई हराउन उर्दी जारी गरेको तथ्य साटासाट भयो, स्वयं राजाले पनि बोलाएर थापालाई हराउन निर्देशन दिएको तथ्य त्यहाँ खोलियो’, बैठकमा सहभागी एक सदस्यले भने, ‘सबैको निष्कर्ष थियो, संवैधानिक राजतन्त्रको वकालत गरे पनि ज्ञानेन्द्र शाहको पक्षमा भने नखुल्ने र अजेन्डा नबोक्ने निष्कर्ष निकालिएको छ ।’

उनका अनुसार उक्त बैठकमा उपाध्यक्ष बुद्धिमान तामाङ, निरञ्जन थापालगायत नेताहरू ‘अप्रत्यासित नतिजा’ले आफू चकित भएको प्रतिक्रिया दिएका थिए ।

बैठकमा सहभागीका अनुसार पूर्वराजाका सचिवालयका सदस्यहरू पशुपतिभक्त महर्जन, सागर तिमल्सिना र फणिराज पाठकलगायतले प्रतिनिधि तथा नेताहरूलाई भेटघाट गरी थापाको विपक्षमा माहोल बनाएको निष्कर्षसमेत निकालिएको उनले जानकारी दिए ।

बैठकमा उपस्थित अधिकांशले पूर्वराजा शाहले धोका दिएको निष्कर्ष निकालेका थिए । थापाको उक्त ट्वीट र समीक्षा बैठकबाट निस्किएको निष्कर्षले पनि उनी राजसंस्थाबाट छायामा पर्दै गएका रहेछन् भन्ने प्रष्ट देखिन्छ । अब थापाको राज संस्थासँग सम्बन्ध कसरी अघि बढ्छ, हेर्न भने बाँकी छ ।