विराटनगर – रोजगारीको आश्वासन दिएर महिलाहरूलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले विराटनगरबाट झापाको बिर्तामोड नगरपालिका– ८ गरामनी घर भई विराटनगरमा बस्दै आएकी २४ वर्षीया सन्ध्या चुँडाललाई पक्राउ गरेको छ ।
चुँडालले विराटनगरको नयाँ गुद्री बजारमा भाडामा लिएको फ्ल्याटमा राखेर महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाएको प्रहरीको दाबी छ ।
प्रहरीले विराटनगर– ११ नयाँ गुद्रीबजारस्थित फ्ल्याटबाट २१ देखि २३ वर्ष उमेर समूहका ६ जना महिलालाई उद्दार गरेको छ । उद्दार गरिएका महिलाहरु काठमाडौं, काभ्रेपलाञ्चोक, स्याङ्जा र उदयपुरका १, १ जना र झापाका २ जना रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
होटलमा जागिर दिने भन्दै विराटनगर ल्याएर चुँडालको समूहले अवैध रुपमा होटलमा तथा ग्राहकले भनेको ठाउँमा महिलाहरुलाई यौन व्यवसायका लागि पठाउने गरेका थिए ।
प्रहरीले चुँडालको समूहले महिलाहरुलाई भनेको स्थानमा जान नमाने यातना दिने गरेको पाइएको बताएको छ ।
चुँडाल र सुनसरीको इनरुवा घर भएका अन्दाजी ३० वर्षीय राजकुमार साहले नयाँ गुद्रीमा फ्ल्याट भाडामा लिएर महिलाहरुलाई राख्ने गरेका थिए । साह फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया