बलात्कारको घटना मिलापत्र गराउने ६ जना पक्राउ


काठमाण्डु – युवतीलाई ५ लाख रुपैयाँ दिएर बलात्कारको घटना मिलापत्र गराउने ६ जना पक्राउ परेका छन् ।

मोरङकी २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका ५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका १ का ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका ८ का ५३ वर्षीय मथालु खवास रहेका छन् ।

२०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका ५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका ८ का ३२ वर्षीय सुरेश कुमार खवासले ती युवतीलाई एक्लैपारी जबरजस्ती करणी गरी फरार भएका थिए ।

सुरेशलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मसिंर १९ गते रंगेली नगरपालिका ७ रंगेली बजारबाट पक्राउ गरेको थियो । थप अनुसन्धान गर्ने क्रममा उक्त घटना गाउँघरमा पीडित पक्षलाई नगद दिई मिलापत्र गराएको खुलेपछि मिलापत्र गराउनेलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई मिलापत्र गरिएको कागजसहित आ–आफ्नै घरबाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement