सप्तरी- गत सोमबार सप्तरी डाक्नेश्वरी नगरपालिका–७ की १७ वर्षीया किशोरी खेतमा जमेको पानी बगाउन जाँदा गाउँकै चार युवकबाट सामूहिक बलात्कारको सिकार भइन् । रगत लतपतिएको लुगा खेतको पानीले पखालेर घर फर्केकी किशोरीले आमालाई घटनाबारे बेलिविस्तार लाइन् । पिताको चार वर्षअघि नै मृत्यु भइसकेकाले आमाले नै निसाफका लागि जातीय मान्यजन गुहारिन् ।
जातीय मान्यजनले पञ्चायत डाके । पञ्चायतमा किशोरीले रुँदै घटना बयान गरिन् । उनका अनुसार खेतको पानी बगाउन कोदालाले आली काटिरहेको बेला उनलाई पछाडिबाट चारजनाले समातेर धानखेतको पानीमा लडाए । सुनसान चौरीमा बचाउबचाउको चित्कार कसैले सुनेनन् । चिच्याउन नछाडेपछि मुखमा कपडा कोचेर आवाज बन्द गरिदिए र पालैपालो बलात्कार गरे । बेहोस भएपछि उनीहरू भागे । होस खुलेपछि उठ्न खोज्दा सकिनन् । चुरा फुटेको, कपाल फुकेको, कपडामा हिलो लागेको अवस्थामा उनी घर आइपुगिन् । उनी पीडाले छटपटाइरहेकी थिइन् ।
किशोरीकी आमाले रुँदै बिन्ती गरिन्, ‘मेरी छोरीलाई निसाफ दिलाउनुस् ।’ भेलामा सहभागी पञ्चहरूले घटना सत्य भएको ठहरसहित आरोपितहरूबाट जनही २५ हजारका दरले जरिवाना भराउने निर्णय सुनाए । पञ्चायतको यस निर्णयमा असहमति जनाउँदै पीडित पक्षले कानुनी दण्डको माग ग-यो । समाजमा बस्ने भए पञ्चायतको निर्णय मान्नुपर्ने फरमान जारी भयो । कानुनी कारबाहीमा गए गाउँको बदनामी हुने भन्दै पञ्चायतले प्रहरीमा जान रोक लगायो ।
आफ्नो सर्वस्व हरण गर्नेलाई पञ्चायतले कारबाहीबाट उम्काएकोप्रति असन्तुष्टिसहित घर फर्केकी किशोरी बेचैन थिइन् । सोही रात उनले आफ्नै घरमा पासो लगाएर आत्महत्या गरिन् । आत्महत्याको अनुसन्धानका क्रममा मात्र प्रहरीलाई बलात्कारको घटनाबारे थाहा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष ख्डकाले बताए ।
पञ्चायतको गलत निर्णयबाट थप पीडित भएर युवती आत्महत्या गर्न बाध्य भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । बलात्कारजस्तो घटनालाई ढाकछोप गरिएको आरोपमा सोही गाउँका जयकान्त मण्डल, सत्यनारायण मण्डल र वासुदेव मण्डललाई प्रहरीले पक्राउ गरी कारबाही चलाएको छ । बलात्कार आरोपित चारैजना फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दोषीले विभिन्न बहानामा उन्मुक्ति पाउँदा सर्वत्र बलात्कार घटना बढिरहेका छन् । अधिकांश घटना बेइज्जत हुने डरले सार्वजनिक नै हुँदैनन् । भएकालाई पनि परिवार र गाउँका पञ्चभलाद्मीले मिलापत्रका नाउँमा टुंग्याइदिन्छन् ।
‘बलात्कारजस्तो जघन्य अपराधलाई पञ्चायत भनेर ढाकछोप गर्न खोज्नु पनि अपराध हो,’ प्रहरी निरीक्षक खड्काले भने, ‘पञ्चहरूकै कारण प्रहरीसम्म समयमा सूचना नै आएन । पीडित किशोरीले आत्महत्या गरिसकेपछि मात्र सूचना आयो ।’ घटनास्थलबाट बलात्कारका संकेत चिह्नहरू, फुटेका चुरा, रगतका टाटा, मडारिएको धानखेतको दृश्य संकलन गरिएको उनले बताए ।
बलात्कारको घटना ढाकछोप गर्न गाउँमा घन्टौं पञ्चायती हुँदा पनि वडाध्यक्ष रामनारायण चौधरीले सुइँको पाएनन् । ‘मलाई कसैले जानकारी नै गराएनन् । पीडितको र मेरो घरको दूरी मुस्किलले ५ सय मिटरमात्र छ,’ उनले भने, ‘उनीहरूको जातीय मान्यजनले गरेको पञ्चायतमा अरू जातिका मान्छे सहभागी गराइएको थिएन,’ उनले भने, ‘पीडक र पीडित एउटै जातिका भएकाले जातीय मान्यजनले पञ्चायतीबाट घटना मिलाउन खोजेका थिए ।’
भदौ १८ गते सिरहाको मिर्चैया नगरपालिका–७ की युवती दुई युवक साथीसँग घुम्न चुरे जंगलतर्फ गएकी थिइन् । उनीहरू आपसमा गफिइरहेका बेला पाँच युवक त्यहीं आइपुगे । उनीहरूले युवतीलाई तानेर जंगलतिर लग्न खोज्दा दुई युवतीले प्रतिकार गरे । पाँचजनाको समूहसामु उनीहरूको जोर चलेन । दुवैलाई रूखमा बाँधेर युवतीलाई जंगलतिर लगे ।
युवती जति चिच्याए पनि सुन्ने कोही थिएनन् । एकान्त जंगलका बीचमा ती युवतीलाई पाँचैजनाले पालैपालो बलात्कार गरे । बलात्कृत युवती बेहोस भइन् । होस खुलेपछि रगतले लतपतिएको लुगासहित रूखमा बाँधिएका साथीनजिक पुगिन् । पीडित युवतीले साथीको डोरी खोलिदिइन् । तिनै साथीले युवतीलाई घरसम्म पु¥याइदिए ।यो समाचार आजको नागरिक दैनिकमा छ ।




प्रतिक्रिया