बलात्कारका मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ गर्न ताकेता

बलात्कारका मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ गर्न ताकेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बलात्कार र महिला हिंसाका मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ सुरु गर्न महान्यायाधिवक्ता कार्यालयले दोस्रो पटक सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको छ । देशभर बलात्कार तथा महिला हिंसाको घटना बढिरहेका बेला महान्यायाधिवक्ता कार्यालयले सरकारी वकिल कार्यालयलाई निरन्तर सुनुवाइ गरेर मुद्दा फैसलामा सहयोग पु¥याउन भनेको छ ।

यसअघि १५ असोज २०७५ मा पनि महान्यायाधिवक्ता कार्यालयले देशभर बलात्कारका घटना बढेको समयमा निरन्तर सुनुवाइ गरेर पीडितलाई न्याय दिलाउन आफ्ना मातहतमा रहेका सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको थियो । अविच्छिन्न सुनुवाइ हुने यो प्रक्रियामा प्रमाण जुटेमा अदालतले एक साताभित्रै फैसला पनि गर्न सक्नेछ ।

अनुसन्धानकर्ता, मुद्दा अभियोजनकर्ता र अदालत तीनै पक्ष बसेर बलात्कारलगायत जघन्य अपराधका मुद्दाको सुनुवाइ निरन्तर गर्ने र सरकारी साक्षीलाई मुद्दा अभियोजनसँगै पेस गर्दा फास्ट ट्र्याकमा सुनुवाइ हुनेछ । पीडितलाई तत्काल न्याय दिन र दोषी उम्कन नदिनका लागि पनि छुट्टै इजलास गठन गरेर सुनुवाइ गर्नुपर्ने हुन्छ ।

निरन्तर सुनुवाइ प्रक्रियाबाट न्याय दिलाउन अग्रसर हुन महान्यायाधिवक्ता कार्यालयले देशैभरिका सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए । ‘बलात्कार तथा महिला हिंसाका मुद्दा अदालतमा छिटो पेस गर्न र न्यायिक प्रक्रियामा सहयोग गर्न सरकारी वकिल कार्यालयलाई पत्राचार गरिएको हो,’ कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले भने ।

साथै महान्यायाधिवक्ता कार्यालयले जबर्जस्ती करणीसम्बन्धी कसूरमा अभियोगपत्रमा दायर गर्दा अनिवार्य रूपमा मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ को नियम ९६ को उपनियम (१) बमोजिम नेपाल सरकार वादी भई चलेका फौजदारी मुद्दामा सबै प्रतिवादी उपस्थित गराइएकामा वा प्रतिवादी उपस्थित हुने समय समाप्त भएपछि लगातार कारबाही र सुनुवाइ गरी किनारा गरिनेछ भन्ने व्यवस्था रहेको उल्लेख गरेको छ ।

सोहीबमोजिम महिला हिंसा र बलात्कारको घटनासँग जोडिएको मुद्दाको निरन्तर सुनुवाइका लागि अभियोगपत्र दायर गर्दा सो कानुनी व्यवस्था उल्लेख गर्न महान्यायाधिबक्ता कार्यालयले भनेको छ ।

देशभर बलात्कारको घटना दिन प्रतिदिन बढेसँगै महान्यायाधिवक्ता कार्यालयले दुई वर्षअघि निरन्तर सुनुवाइका लागि अदालतमा मुद्दा पेस गर्न सबै सरकारी वकिल कार्यालयलाई भनेको हो । गत ७ असोजमा बझाङको मास्टा गाउँपालिकामामा गाईवस्तुलाई घाँस हाल्न गएकी १२ वर्षकी सम्झना विकको बलात्कारपछि हत्या भयो । हत्याको आरोपमा राजेन्द्र बोहरा पक्राउ परेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।