राजविराज – किशोरी छोरीले आत्महत्या गरेपछि रधियादेवी मण्डलको मनमा यस्तो तर्कना आउँछ, ‘पापीहरूले बलात्कार गरे, पञ्चहरूले हत्या।’ तिनै पञ्च र आरोपित परिवारका महिला सदस्यले अहिले घरमा आएर उजुरी फिर्ता लिन रधियादेवीलाई धम्क्याउन थालेका छन्। ‘दुःखी, गरिब, कमजोरको आफ्नो भन्ने कोही हुँदा रहेनछन्’, उनले भनिन्, ‘आँट, भरोसा र आस दिनेभन्दा धम्क्याउने बढी भयो।’
मृतककी बहिनी सविताले दिदी बितेपछि निदाउन नसकेको सुनाइन्। ‘धम्क्याउनेहरूले अनेक कुरा सुनाउँछन्। कोहीले भन्छन्, अब तिमीहरूलाई जातबाट अलग गरिदिने रे। कोहीले सुनाउँछन्, मुद्दा दर्ता भए पनि साक्षी कोही पनि बस्दैनन्।’
सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरकी रधियादेवीकी १७ वर्षीया छोरी संगीता हालै सामूहिक बलात्कारको सिकार भएकी थिइन्। तर, गाउँका ‘पञ्च’ले उजुरी दिन प्रहरीमा जान रोक लगाउँदै चार दोषीबाट क्षतिपूर्ति भराउने निर्णय सुनाएका थिए। गाउँलेले आफ्नो ‘अस्मिताको मूल्य’ तोकेपछि संगीताले पासो लगाएर मंगलबार मृत्युको बाटो रोजेकी थिइन्।
‘पञ्चहरूले प्रहरीमा उजुरी गर्न रोक लगाए र पीडितलाई भेलामा बोलाएर हाँसोको पात्र बनाएर थप पीडा दिए’, रधियादेवीले भनिन्, ‘५५ हजार सानो रकम होइन, खुरुक्क लेऊ। चुप लागेर बस भनेर पञ्चहरूले अस्मिताको मूल्य तोक्दै व्यंग्य नगरेको भए सायद मेरी छोरीले मृत्युको बाटो रोज्दिन थिइन् होला।’
उनले संगीताको आत्महत्या हत्या नै भएको बताइन्। ‘पुरुषहरूको भेलामा बोलाएर पालैपालो घटना विवरण भन्न लगाएर हाँसोठट्टाको विषय नबनाएको भए र अपराधीहरूलाई कारबाही गर्न साथ दिएको भए छोरीले मृत्युवरण गर्नुपर्ने थिएन’, उनले भनिन्।
अन्नपूर्ण पोस्ट्मा बुधबार समाचार प्रकाशन भएपछि प्रहरी प्रधान कार्यालयले उक्त घटनाबारे चासो लिएको छ। २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको टोली घटनास्थलमा खटिएको छ। प्रदेश र इलाका प्रहरी कल्याणपुरबाट खटिएको टोलीले भारतीय प्रहरीको समन्वयमा बिहीबार राति बलात्कारका आरोपितलाई पक्राउ गरेको छ। भारतमा लुकेर बसेको डाकनेश्वरी–७ ललितपुरकै १९ वर्षीय बब्लु भनिने सुमनकुमार मण्डल र १८ वर्षीय रञ्जित भनिने सरोजकुमार मण्डललाई बलान बिहुलको बेल्हीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया