नेतृत्वका लागि राप्रपामा चार नेताबीच कडा टक्कर, कमल थापालाई आफ्नैबाट घात

नेतृत्वका लागि राप्रपामा चार नेताबीच कडा टक्कर, कमल थापालाई आफ्नैबाट घात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि चार जना उम्मेद्वारबीच कडा प्रतिष्पर्धा हुने भएको छ । आागामी वैशाख २५ देखी २८ गतेसम्म ३ दिन काठमाण्डुमा गर्ने भनिएको महाधिवेशनमा अध्यक्षका लागि कमल थापा, पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र धवलसमशेर राणाबीच प्रतिष्पर्धा हुने भएको हो ।

थापा, राणा र लोहनी हाल राप्रपाको अध्यक्ष छन् भने धवलसमशेर नेपालगञ्ज उपमहानगरपालिकाका मेयर छन् । थापा निकट रहेका राणाले उनकै विरुद्धमा उम्मेद्वारी दिन लागेका हुन् । राणा कमल थापाका कारण राप्रपा ध्वस्त भएकोले दोस्रो पुस्ताका नेताले नेतृत्व सम्हाल्नुपर्ने पक्षमा भए पनि उनीसँग स्पष्ट मत भने नभएको बताइन्छ ।

वैशाखमा हुने महाधिवेशनबाट राप्रपाले युवा नेतृत्व पाउने सम्भावना भने कम छ । धवलसमशेरलाई युवा पुस्ताको सहयोग भए पनि ठूलो समूह पुरानै नेतृत्वलाई एक कार्यकाल दिनुपर्ने पक्षमा छ ।

‘राप्रपामा नयाँ पुस्ताका नेतामा अनुभव कम रहेकाले पनि एकपटक पुरानै नेतृत्व दोहोरिनुपर्ने पार्टीभित्र आवाज उठिरहेको छ । अर्को पटक पुराना नेताहरुले छोड्नुपर्छ । अहिले यही नेतृत्वलाई निरन्तरता दिनुपर्छ । त्यो बेलासम्म नयाँ पुस्ता अलिक परिपक्क पनि हुन्छन । ’, राप्रपाका एक प्रभावशाली  नेताले भने ।

राप्रपाभित्र नेतृत्वका लागि दाबेदार मानिएका नयाँ पुस्ताका नेता राजेन्द्र लिङ्देन र धवलसमशेर राणा रहेका छन् । राणा नेतृत्वका लागि आकांक्षी देखिए पनि लिङ्देन भने हालसम्म मौन छन् । उनीहरुले कमल थापाको विकल्प खोजिरहेको उनी निकट स्रोत बताउँछ ।

‘पार्टीभित्र कमल थापाको हालत नाजुक छ । कुनै पनि हालतमा कमल थापा अध्यक्ष हुनुहुँदैन भन्ने पक्षमा राजेन्द्र लिङ्देन र धवलसमसेर रहेका छन् । कमल थापाले संसदमा २४ सिट रहेको पार्टीलाई एक सिटमा झारेको भन्दै उनीहरुले थापाको विकल्प खोज्न थालेका छन् । उनीहरुले कमल थापाको विरुद्धमा अध्यक्षमा उम्मेद्वारी दिँदैछन्’, थापा निकट एक नेताले भने ।

पछिल्लो समय कमल थापाका कार्यकर्ता पनि असन्तुष्ट देखिएका छन् । थापाका दाहिने हात भनिएका दुई महामन्त्री लिङ्देन र राणा विपक्षमा उभिएको थापा निकट स्रोत बताउँछ ।

‘उनले पार्टीलाई स्थीर राख्न सकेनन् । कमल थापामा अस्थीरता देखियो । अब पनि उनले नेतृत्व गरेर पार्टी सही ठाउँमा पुग्न सक्दैन । पार्टी संगठनमा हिँड्ने तर, पार्टीलाई व्यक्तिगत रुपमा प्रयोग गर्ने चरित्र उनमा देखिएको छ । पटक–पटक सरकारमा गए पनि राष्ट्रियताको पक्षमा अडिग हुन नसकेको आरोप लागेको छ’, एक नेताले भने ।

पछिल्लो अवस्थालाई विश्लेषण गर्दा कमल थापासँग जनमत भएको र लोकप्रिय नेताको समर्थन नगन्य रहेको छ । उनको पक्षमा चन्द्रबहादुर गुरुङ, राजेन्द्र श्रेष्ठ, उद्धव पौडेल, भाष्कर भद्रा र राजाराम बर्तौलालगायतको समूह रहेको छ ।

राप्रपाको नेतृत्वमा पशुपतिलाई ल्याउन कार्यकर्ताले रुचाएका छैनन् । उनीमाथि विगत ३० वर्षदेखि नेतृत्व गरे पनि सक्रियता नदेखिएको र पार्टीलाई सही मार्गनिर्देश गर्न नसकेको आरोप लागेको छ । पशुपतिको पक्षमा किशोर कार्की, जगत गौचन, दुर्गा गौचन र राजाराम श्रेष्ठ रहेका छन् ।

पछिल्लो अवस्थालाई हेर्दा राप्रपाको नेतृत्वका लागि लोहनी केही मजबुत देखिएका छन् । लोहनीले अहिलेसम्म एकल नेतृत्व गर्ने मौका पाएका छैनन् । पार्टीभित्र उनी खासै विवादमा पनि आएका छैनन् । पार्टीका काममा सक्रियता देखाएको भन्दै उनीमाथि कार्यकर्ताहरुले भरोसा गरेका छन् । लोहनी राप्रपामा नेतृत्वको परीक्षण नभएका एक मात्र नेता हुन् । कमल थापा र राणाका कारण पार्टीमा वडा सदस्यसमेत जित्न नसक्ने अवस्थामा पुगेको आरोप लागेपनि नेतृत्व सम्हाल्न नपाएका कारण कार्यकर्ताको नजरमा उनी स्थिर पात्रको रुपमा चिनिएका छन् ।

‘अहिलेसम्म प्रकाशचन्द्रजीले एकल नेतृत्वका लागि मौका पाउनुभएको छैन् । पछिल्लो पटक उहाँको राजनीतिक खटाइका कारण कार्यकर्ताको मन जित्नु भएको छ । यो कारणले एक पटक उनलाई नेतृत्व दिनुपर्छ भन्ने छ’, एक राप्रपाका प्रभावशाली नेताले भने ।

लोहनीले एक कार्यकाल नेतृत्व गर्ने मनसाय नेताहरु समक्ष बताउँदै आएका छन् । उनले अबको पाँच वर्ष आफूले पार्टीको नेतृत्व सम्हाल्ने र त्यसपछि नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएको उनी निकट स्रोत बताउँछ ।

‘एक कार्यकालपछि मैले राजनीतिबाट विश्राम लिन्छु । पार्टीमा नेतृत्व लिने मेरो अन्तिम कार्यकाल हो’, लोहनीको भनाई उदृत गर्दै एक नेताले भने ।

हिन्दुवादी र राजावादीहरुले लोहनीको पक्ष लिएका छन् । उनीहरुले कमल थापा र पशुपति शमशेर जबराले पार्टीलाई ध्वस्त बनाएको र राजतन्त्रका पक्षमा स्पष्ट वकालत नगरेको भन्दै लोहनीको पक्ष लिएका हुन् ।

‘नेपालमा राजा ल्याउनुपर्छ भनेर लागेका ५० प्रतिशत मानिसहरु लोहनीजीको समर्थनमा देखिएका छन् । पशुपतिले राजसंस्थाका विषयमा प्रष्टसँग नबोलेको र कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थालाई प्रयोग गरेर व्यक्तिगत रुपमा लाभ लिएका कारण उनीहरु लोहनीको पक्षमा देखिएका छन्’, राप्रपाका ती नेताले भने ।

लोहनीको पक्षमा नेताहरु रामकुमार सुब्बा, राजेन्द्र गुरुङ, रामचन्द्र राय, रामप्रताप शाह, विक्रम पाण्डे, श्याम तिमिल्सिना र दीप बहादुर शाही रहेका छन् ।