काठमाण्डु – राजतन्त्रको माग गर्दै राजावादीहरुले ललितपुरमा विशाल मोटरसाइकल र्याली प्रदर्शन गरेका छन् । राप्रपा केन्द्रीय सदस्य निरञ्जन थापाको नेतृत्वमा शनिबार राजसंस्थाको पक्षमा मोटरसाइकल र्याली निकालिएको हो ।
राजा चाहियो, गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद भन्दै सातदोबाटोस्थित एन्फा एकेडेमीबाट निस्केको ¥याली कुपण्डोल, सानेपा, लगनखेल हुँदै जावालाखेल पुगेर टुंगिएको थियो ।
मोटरसाइकलमा रहेकाहरूले राष्ट्रिय झन्डा बोकेका थिए । राप्रपा नेपालले आयोजना गरेको ¥यालीमा सयौंको उपस्थिति रहेको थियो ।
राजतन्त्र र हिन्दूराज्यको माग गर्दै आयोजना गरिएको प्रदर्शनमा उपत्यका र वरपरका जिल्लाका युवाहरु सहभागी थिए । दुई तिहाइको नेकपाको सरकारबीच द्वन्द्व चलेको फाइदा उठाउँदै राजावादीको नाममा प्रदर्शन गर्न थालेपछि सरकारमाथि दबाब बढेको छ ।
ललितपुरको पुल्चोकमा भेला भएका राजवादीले सरकारविरुद्ध नाराबाजी गरेका हुन् । पछिल्लो समय देशका प्रमुख शहरमा राजावादीले प्रदर्शन गरिसकेका छन् । यसअघि रौतहट, नेपालगन्ज, बर्दिया, धनगढी, पोखरा, हेटौंडा, बुटवललगायत दुई दर्जनभन्दा बढी ठूला शहरमा प्रदर्शन गरिसकेका छन् ।
लामो समय चुप लागेर बसेका पूर्वराजा ज्ञानेन्द्रलाई उकास्न राजावादीको नाममा विभिन्न संगठनले प्रदर्शन गरिरहेको सरकारको अड्कल छ ।





प्रतिक्रिया