सुनील थापाले राप्रपाका संस्थापक नेताको आदर्शलाई तिलाञ्जली दिएर राजनीतिक चरित्रलाई बदनाम गरे : राप्रपा

सुनील थापाले राप्रपाका संस्थापक नेताको आदर्शलाई तिलाञ्जली दिएर राजनीतिक चरित्रलाई बदनाम गरे : राप्रपा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनीलबहादुर थापाले स्व.पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाको आदर्शलाई तिलाञ्जली दिएर गलत बाटोमा लागेकोले आफ्ना बुबाको दिक्षाबमोजिम सच्चा मार्गमा फर्कन धनकुटा जिल्लाका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, कार्यकर्ताहरुले आह्वान गरेका छन् ।

मंगलबार जारी संयुक्त विज्ञप्तिमा पूर्वमन्त्री सुनीलले अस्थिर र द्वेध चरित्र प्रदर्शन गरेर राप्रपाका संस्थापक नेता स्व. थापाको राजनीतिक चरित्रलाई बदनाम गरेको बताइएको छ ।

‘व्यक्तिगत निर्णयको छुट सबैमा सुरक्षित रहन्छ तथापि आफ्नै बुबाको दीक्षा भूलेर राजनीतिक विचलनको बाटोबाट सुनीलबहादुर थापा कहीँ कतै पुग्ने छ्रैनन् । आफैंलाई मन्त्री बनाउने साथीहरुलाई अवमूल्यन गर्नु शोभनीय कार्य होइन । त्यसैले सुनीलबहादुर थापाप्रति सहानुभूति प्रकट गर्दै निष्ठा र आदर्शको सच्चा मार्गमा फर्किन आह्वान गर्दछौं,’ पूर्वकेन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कुमार थापासमेत ३० जनाले भनेका छन् ।

‘धनकुटाका जनतालाई टुहुरो हुन दिन्न भन्ने स्व. थापाको वाणीलाई हामीले भूलेका छैनौं,’ विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री स्व. थापाको राजनीतिक विरासतलाई जोगाइराख्नु हाम्रो कर्तव्य हो । स्व. थापालाई पाँच पटक प्रधानमन्त्री बनाउने धनकुटेली जनता, कार्यकर्ता यसैकारण राप्रपामै एक ढिक्का थियौं, छौं र रहीरहने छौं ।’

पूर्वमन्त्री सुनीलले कहिले राजतन्त्र त कहिले गणतन्त्र, कहिले धर्म निरपेक्षता त कहिले हिन्दु राष्ट्रको कुरा गरेर अस्थिर र द्वेध चरित्र प्रदर्शन गरेको आरोप छ । ‘गत प्रतिनिधिसभाको निर्वाचनकै बेला सुनीलबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) धनकुटालाई नेपाली कांग्रेसमा विलय गराउन खोजेका थिए । यस्तै अराजनीतिक गतिविधिबाट आजित भए पनि स्व. थापाको राजनीतिक विरासतलाई हामीले संगठित रुपमा अक्षुण्ण राख्यौं,’ विज्ञप्तिमा भनिएको छ ।

धनकुटाका नेता, कार्यकर्ताले राप्रपा परित्याग गरेको भन्दै अफवाह फैलाएको भनेर विज्ञप्तिमा खण्डन गरिएको छ ।

‘राप्रपा धनकुटाको जिल्ला, नगर र गाउँ तहका कार्यसमितिहरु भंग गरिएको कुप्रचारलाई यसै सन्दर्भमा हामी घोर भत्र्सना गर्दछौं । प्रचारमा ल्याइएका व्यक्ति वा समितिहरु सुनीलबहादुर थापाले खल्तीबाट झिकेका नक्कली सूची हुन् । राप्रपा धनकुटाका वैधानिक जिल्ला, नगर र गाउँ कार्यसमितिहरु स्व. थापाकै पदचिन्हमा यथावत छन् । कसैले पनि पार्टी परित्याग नगरेको हामी प्रष्ट पार्न चाहन्छौं । सम्बन्धित सबैलाई हल्लाको पछि नलाग्न, भ्रममा नपर्न र विचलित नहुन आह्वान गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

राप्रपामा संगठित सम्पूर्ण सहयोद्धाहरु, पार्टीका समर्थक, शुभचिन्तक धनकुटेली जनतालाई विचलित नहुन र एकढिक्का रहीरहन राप्रपाका पदाधिकारी, सदस्यहरुले आह्वान समेत गरेका छन् । राप्रपाका संस्थापक नेताको रुपमा स्व. थापाले देखाएको बाटोमा अविछिन्न क्रियाशील रहेको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

विज्ञप्ति जारी गर्नेहरुमा पूर्वकेन्द्रीय सदस्य तथा धनकुटा जिल्ला अध्यक्ष कुमारबहादुर थापा, केन्द्रीय सदस्य हरीप्रसाद घिमिरे, पूर्व जिल्ला उपाध्यक्ष टिकाप्रसाद घिमिरे, क्षेत्र नं का १ क्षेत्रीय अध्यक्ष धर्मध्वज राई र क्षेत्र नं का २ क्षेत्रीय अध्यक्ष श्याम गुरुङ छन् ।

यसैगरी विज्ञप्ति जारी गर्नेमा जिल्ला सदस्यहरु रेवतराम भण्डारी, चन्द्र याख्या, शंकर थापा, पवित्रा श्रेष्ठ, दुर्गा पुरी, टेकबहादुर सारु, लोकेन्द्र घिसिङ, रेगेन्द्र लिम्बु, नरेन्द्र राई, गर्जमान राई, चन्द्र गुरुङ, क्षेत्रीय सदस्यहरु रमेश चापागाई, नगेन्द्र पौडेल, नगेन्द्र अधिकारी, पाख्रीबास नगर समिति अध्यक्ष कृष्ण थापा, पाख्रीबास नगर समिति सदस्यहरु थामबहादुर राई र लोकबहादुर विश्वकर्मा, प्रकाश लिम्बु, डिल्ली लिम्बु, चोलेन्द्र गिरी, रामप्रसाद वस्ती, भीम खतिवडा, गणेशबहादुर कार्की, उपेन्द्र कार्की, गणेश गिरीलगायत सम्पूर्ण जिल्ला, क्षेत्रीय, नगर, गाउँपालिका, वडा प्रमुख तथा सदस्यहरु समावेश छन् ।