काठमाण्डु- राष्ट्रियसभाबाट दुई विधेयक पारित गरिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव गरेको ‘रेल्वे विधेयक, २०७८’ र ‘प्रत्यायन विधेयक, २०७८’ सर्वसम्मतिले पारित भएका हुन् ।
सो विधेयकमाथिको छलफलका क्रममा सांसदहरुको जवाफ दिँदै मन्त्री कार्कीले रेल सञ्चालनको कानुन अभावले विधेयक पेस गरेको बताउँदै यसले रेल्वे कानुनको अभाव हट्ने र रेल्वे सेवा विस्तारमा सहयोग पुग्ने बताए । आजै बैठकले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रधानमन्त्री देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री कार्कीले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
सो प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले सरकारको जनताप्रति दायित्व हुने भएकाले लोकतान्त्रिक मूल्यमान्यता र स्वतन्त्र पत्रकारिता मान्यताअनुसार नै सार्वजनिक सेवा प्रसारण विधेयक आएको बताएका छन् ।
उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सदस्य खिमलाल देवकोटाले रेडियो, टेलिभिजन र नेपाल टेलिभिजनसँगै प्रदेशले सञ्चालन गरेका मिडियाहरुलाई पनि विधेयकले समेट्नुपर्ने बताए । सदस्य प्रकाश पन्तले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रसारणमा लैजाने भनिए पनि सरकारले निर्देशन दिने कुरा राखिएकाले त्यसले स्वतन्त्र पत्रकारिताको उद्देश्य हासिल नहुने बताए ।




प्रतिक्रिया