काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीको दिन आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन् । पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले आज विहान करिब दश मिनेट पूजाअर्चना गरेकी हुन् । उनी विहान १०ः३० बजे मन्दिर पुगेकी थिइन् ।
उनी राष्ट्रपति भएपछि यस मन्दिरमा पूजाअर्चना गरेको यो तेस्रो पटक हो । गत वर्ष कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण मन्दिरमा हुने आजापूजा रोकिएको थियो ।
राष्ट्रप्रमुखले बडादशैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा चलिआएको छ । हेलिकप्टरमार्फत पाँचखालस्थित नेपाली सेनाको शान्ति तालिम केन्द्रमा अवतरण गर्नुभएका राष्ट्रपतिलाई कडा सुरक्षाकासाथ करिब पाँच किलोमिटर दुरीमा अवस्थित मन्दिरसम्म पु¥याइएको थियो ।
करिब १७ सय वर्षअघि अर्थात् सम्वत् ४२५ मा मानदेव प्रथमको पालामा स्थापित पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनीमध्ये पलाञ्चोक भगवती ठूली दिदी हुन् भन्ने लिच्छवीकालीन किंवदन्तीमा उल्लेख भएको पाइन्छ ।
रासस




प्रतिक्रिया