काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि सोमबार बंगलादेश जाने भएकी छन् । बंगलादेशको औपचारिक निमन्त्रणामा उनी भोलि बंगलादेशतर्फ प्रस्थान गर्न लागेकी हुन् ।
राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी रहने छन् । भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम रहेको छ ।
बंगलादेशले रहमानको सतवार्षिकी कार्यक्रम एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । सो कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल–बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने कार्यक्रम छ । त्यसैगरी उनले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम छ ।
त्यसैगरी राष्ट्रपति भण्डारी समकक्षीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने छिन् भने त्यहाँको सहिद स्मारिकको भ्रमण गर्ने कार्यक्रम रहेको छ । ढाकास्थित नेपाली दूतवास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने कार्यसूची पनि रहेको छ ।
महत्वपूर्ण तीन समझदारीमा हस्ताक्षर हुने
त्यस्तै राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणका क्रममा दुई देशबीच तीन वटा महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।
दुई देशबीच पर्यटन प्रवर्द्धन, सांस्कृति सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुने भएको हो ।
बङ्गलादेश सरकारले नेपाललाई चटगाउँ र मोङ्ला बन्दगाहका साथै काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध सतहमार्गबाट पारवहन सुविधा उपलब्ध गराएको छ । रोहनपुर–सिंहबादबाट मालबाहक रेल नेपालसम्म आवतजावत गर्न अतिरिक्त ‘रेल करिडोर’ प्रदान गरेसँगै कोलाकाता बन्दरगाहको विकल्पको रुपमा मोङ्ला बन्दरगालाई उपयोग गर्न मार्गप्रशस्त भएको छ ।
नेपालका निम्ति कोलाकाताभन्दा मोङ्ला बन्दरगाह नजिक हुने भएकाले त्यसबाट कम लागतमा द्विपक्षीय व्यापार विस्तार गर्न सहयोग पुग्नेछ । उक्त बन्दरगाहबाट विराटनगरस्थित एकीकृत जाँचचौकीमा मालसामन आइपुग्न २१७ किलोमिटर दूरी पार गर्नुपर्नेछ भने वीरगञ्जमा रहेको एकीकृत जाँचचौकी पुग्न ६०० किलोमिटर यात्रा गर्नुपर्नेछ ।
बङ्गलादेशले नेपाललाई उच्च महत्व र सम्मान दिँदै आएको तथा त्यही वास्तविकता प्रतिविम्बित गर्न आफ्ना राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहमा राष्ट्रपति भण्डारीलाई आमन्त्रण गरिएको बङ्गलादेशका लागि नेपालका राजदूत डा वंशीधर मिश्रले जानकारी दिए ।
ढाकामा राष्ट्रपति भण्डारीको राजकीय भ्रमणको भव्य तयारी भइरहेको र राष्ट्रपति मोहमद अब्दुल हमिदले आफ्ना नेपाली समकक्षीलाई सोमबार हजरत शाहजलाज अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।
सम्पर्क सञ्जालका बहुढाँचाको विकास, सुदृढ पारवहन सुविधाका लागि लगानी प्रवर्द्धन, पर्यटन विस्तारमा सहकार्य, ऊर्जा क्षेत्रमा साझेदारी अभिवृद्धि, सांस्कृतिक एवं शैक्षिक क्षेत्रमा थप सहयोग बढाउने तथा दुवै देशका उत्पादनलाई आ–आफ्नो मुलुक निर्वाध पु¥याउन सहुलियतपूर्ण व्यापार सम्झौता (पीटीए) गर्ने तयारी गरिएको भए पनि केही प्राविधिक कठिनाईका कारण राष्ट्रपतिको भ्रमणका बेला पिटीए नहुने उनले बताए ।




प्रतिक्रिया