काठमाण्डु – राष्ट्रिय सभाले प्रतिनिधि सभा सांसद ज्ञानबहादुर शाहीको अभिव्यक्तिविरुद्ध खेद प्रस्ताव पारित गरेको छ ।
राष्ट्रिय सभाको आईतबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर विचार सम्प्रेषण गर्न निर्देशन दिएको छ ।
शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रमुख सचेतक छन् । राष्ट्रिय सभाको बैठकको शून्य समय र विशेष समयमा बोल्ने सांसदहरूले प्रतिनिधिसभा सदस्य शाहीले राष्ट्रिय सभाको काम कारबाहीका सन्दर्भमा प्रश्न उठाएकोमा आपत्ति जनाएका थिए ।
शाहीको अभिव्यक्तिविरूद्ध पारित खेद प्रस्तावमा भनिएको छ, ‘निज माननीय सदस्यले कपोकल्पित, झूटा र यथार्थभन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र सभाका माननीय सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकाले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ । आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निज माननीय सदस्यलाई यो सभा निर्देशन समेत दिन्छ ।’
सांसद शाहीले मिडिया काउन्सिल विधेयक पढ्दै नपढी हुबहुँ पारित गरेको भन्दै राष्ट्रिय सभालाई वृद्धाश्रमको संज्ञा दिएका थिए ।
प्रतिक्रिया