राष्ट्रपति पौडेलद्वारा माघ ४ गतेका लागि राष्ट्रियसभा अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्वारा माघ ४ गतेका लागि राष्ट्रियसभा अधिवेशन आह्वान


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको आगामी अधिवेशन माघ ४ गते आईतबारका लागि आह्वान गरेका छन् ।

सोमबार राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार संघीय संसद् सचिवालय सिंहदरबारमा माघ ४ गते बिहान ११ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान गरिएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन बोलाएका हुन् । आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन र मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबिच बस्न लागेको अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ ।

राष्ट्रिय सभामा रिक्त हुने सदस्य पदका लागि माघ ११ गते निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक भइसकेको छ । निर्वाचनको पूर्वसन्ध्यामा सुरु हुने अधिवेशनमा विभिन्न विधेयक र समसामयिक प्रस्तावहरूमाथि छलफल हुने अपेक्षा गरिएको छ ।