राष्ट्रियसभाको अधिवेशन आजदेखि

राष्ट्रियसभाको अधिवेशन आजदेखि


काठमाण्डु–राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबारदेखि बस्दैछ ।

नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन नवयुवा आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बैठक बिहान ११ बजे बस्दैछ ।

अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले अस्ति शुक्रवार नै कार्यव्यवस्था परामर्श समितिको बैठक गरेका थिए ।

अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशनको सबै तयारी पूरा भइसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गएको पुस २८ गतेको सिफारिसमा आज बिहान ११ बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका थिए । गएको भदौ ३१ गते राष्ट्रियसभाको १८औँ अधिवेशन अन्त्य भएको थियो ।

यसैबीच, निर्वाचन आयोगले माघ ११ गते राष्ट्रियसभाको १९ सदस्यका लागि निर्वाचनको तयारी पनि गरेको छ । राष्ट्रियसभा सदस्यमा एक जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभाको निर्वाचनको तयारी अगाडि बढिरहेको र राष्ट्रियसभामा पनि नयाँ सदस्यहरू निर्वाचित भएर आउन लागेको अवस्थामा यो अधिवेशनलाई महत्त्वका साथ हेरिएको छ ।