काठमाण्डु – राष्ट्रिय सभाको आज शुक्रबारको दोस्रो बैठकले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले विधेयकमाथिको सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका हुन् ।
विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरू देवेन्द्र दाहाल, सुरेश आलेमगर, सारदादेवी भट्ट, भुवनबहादुर सुनुवार, डा विमला राई पौडेल, नारायणप्रसाद दाहाल, गंगाकुमारी वेल्वासे भाग लिएका थिए ।
कैलालीको गोदावरी नगरपालिका–४ स्थित निर्माणाधीन गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रूपमा रूपान्तरण गर्न तथा चिकित्सा शिक्षामा गुणस्तरीय अध्ययन अध्यापन गराउन सरकारले विधेयक प्रस्तुत गरेको छ । विधेयक असोज १९ गते सभामा दर्ता भएको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक असोज ३० गते दिउँसो १ बजे बस्ने जनाइएको छ ।




प्रतिक्रिया