काठमाण्डु – आजदेखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुदैछ । प्रतिनिधिसभा विघटन भएको र यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज दिउँसो ४ बजे बस्ने राष्ट्रिय सभामा राष्ट्रपति कार्यालयले पठाएको पत्र सुरूमै पढेर सुनाउने र दलका नेताहरूलाई बोल्न समय दिने, प्रतिनिधिसभा भंग भएका कुरा उठाउने जस्ता सम्भावित कार्यसूची छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेपछि यो पहिलो बैठक हो । राष्ट्रिय सभामा ५९ जना सदस्य छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका ५० जना, नेपाली कांग्रेसका ६ जना र जनता समाजवादी पार्टीका ३ जना सदस्य छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेपछि नेकपाभित्र विवाद छ । बेग्लाबेग्लै समूह क्रियाशील रहे पनि पार्टी विभाजित भएको औपचारिक घोषणा भने हुन बाँकी छ ।
यस्तै राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले अधिवेशन सफलताका लागि शुभकामना मन्तव्य राख्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन, गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन, नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन तथा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश बैठकमा पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री दयेश त्रिपाठीले औषधि तेस्रो संशोधन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्य विधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेस गर्नुहुने संसद् सचिवालयले जनाएको छ ।




प्रतिक्रिया