राष्ट्रियसभा सदस्यको नाम फिर्ता लिएको भन्दै नेपाली कांग्रेसको आपत्ती


काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले राष्ट्रियसभामा सिफारिस गरेका ३ जनाको नाम फिर्ता लिंदै उनीहरुको ठाउंमा नयां ३ जनाको नाम सिफारिस गरेकोमा नेपाली कांग्रेसले आपत्ती जनाएको छ । नेपाली कंग्रेसका प्रवक्ता एवम् नेता विश्वप्रकाश शर्माले कुनै कारण नै उल्लेख नगरिकन राष्ट्रियसभा सदस्य परिवर्तन गर्नुले अहिलेको सरकारको अनुचित राजनीतिक व्यवहार देखाएको आरोप लगाएका छन् ।

वाम गठबन्धनको सरकारले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससंग मिलेरअघि बढ्न नचाहेको र भोलिका दिनमा पनि सहयोगको भावना राख्न नचाहेको संकेत गरेको बताउनुभएको हो । यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चांदनी जोशीलाई राष्ट्रियसभामा सिफारिस गरेको थियो । तर त्यो सिफारिस फिर्ता लिंदै सरकारले नयां नाम पठाएको हो ।

सरकार सिफारिस अनुसार राष्ट्रपति भण्डारीले युवराज खतिवडा, रामनारायण बिडारी र बिना पौडेल राईलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नुभएको छ । सरकारको यो निर्णय विरुद्ध कुनै कानुनी प्रक्रिया अघि बढाउन सक्ने या नसक्ने भन्ने बारे अहिले कुनै निष्कर्षमा नपुगेको नेता शर्माले बताउनुभएको छ ।

‘काम चलाउ सरकारले गरेको निर्णय सदर नहुने भनेर सरकारले तर्क गरेमा राष्ट्रियसभाको चुनावलगायत अन्य विषयमा पनि सरकारले असन्तुष्टि जनाउनुपर्ने हो, तर त्यसो भएको छैन’ प्रवक्ता शर्माले भन्नुभयो ‘सरकारको कदमले प्रतिपक्षको भावना बुझेर सरकार अघि बढ्न नसक्ने प्रस्टाएको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement