रसुवा – कोभिड–१९ संक्रमण नियन्त्रणउन्मुख भए पनि रसुवामा सिजनल भाइरलका बिरामी बढेका छन् । जिल्लाका नवजात शिशुदेखि वृद्धवृद्धासम्म सिजनल फ्लु भाइरल देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
उनीहरूमा एन्टिजेनमार्फत गरिएको कोरोना परीक्षणमा भने नेगेटिभ पाइएको छ । जिल्लाको जिबजिबे ग्रामिण अस्पताल, रसुवा अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा सिजनल फ्लु भाइरलका बिरामीहरू बढेका छन् ।
कडा खालको ज्वरो आउने, कडा खालको खोकी लाग्ने, निमोनिया देखिने, श्वास फेर्न गाह्रो हुने, घाटी दुख्ने, बान्ता हुनेलगायत समस्या देखिएका बिरामीहरू आउने गरेको जिल्लाका स्वास्थ्य संस्थाहरुले बताएका छन् । यस्ता समस्या लिएर अस्पताल आउनेमा अधिकांश बालबालिका रहेको बताइएको छ ।
रसुवा अस्पतालका डाक्टर कौशिक सापकोटाकाअनुसार १७ दिनको नवजात शिशुसमेत श्वास फेर्न गाह्रो हुने, खोकी लाग्नेलगायतका समस्याले अस्पताल भर्ना भएका छन् । तीन दिनदेखि अक्सिजन दिई बिरामीको उपचार भइरहेको उनले बताए । अहिले २ वर्षसम्मका बालबालिका ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रस्वासमा समस्या देखिएको भन्दै अस्पतालमा आइरहेका छन् ।
जिबजिबे ग्रामीण अस्पतालमा पनि कडा खालको ज्वरो तथा खोकी, निमोनियालगायतको समस्याका बिरामी आउने क्रम बढेको अस्पतालका हेल्थ असिस्टेन्ट उत्सव पौडेलले बताए । अहिले जिल्लामा श्वासप्रश्वासको बिरामी आए श्वासप्रश्वासको नली खुलाउन प्रयोग हुने औषधिको अभाव रहेको जनाइएको छ । जिल्लामा आइसियू, भेन्टिलेटरलगायतका अत्यावश्यक उपकरणको सुविधा नहुँदा जटिल प्रकृतिका बिरामीको उपचारका लागि जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ ।




प्रतिक्रिया