रसुवा – चार दिनदेखि अवरुद्ध रसुवागढी नाका जोड्ने सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
पासाङल्हामु मार्गको राम्चे–धुन्चे सडक खण्ड अन्तर्गत पर्ने ब्राबल भीरमा सडक भासिएपछि मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको थियो ।
केही समयमा लागि सवारी साधन अस्थायी रूपमा पास हुने व्यवस्था मिलाइएपनि पुनः वर्षा हुँदा जुनसुकै समयमा सडकमा क्षति हुन सक्ने सम्भावना भएकाले ब्लाष्टिङ गरेर सडक निर्माण गरी सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
छेउतर्फ पर्खाल लगाउन बढी समय लाग्ने प्राविधिकले निचोड निकालेपछि विष्फोटक पदार्थको सहायताले पहरो फुटाएर सडक खुलाइएको हो ।
बिहीबार साँझसम्ममा ६० वटा होल खोपेर ब्लाष्टिङ गरिएको थियो । सडक पूर्ण रूपमा सञ्चालनमा आएसँगै सवारी साधनलाई आवत–जावत गर्न सहज भएको छ ।




प्रतिक्रिया