काठमाण्डु – समानुपातिक उम्मेदवार छनोटका लागि रास्वपामा ‘प्राइमरी इलेक्सन’ गरेपनि विवादित बनेको छ ।
रास्वपाले समानुपातिक उम्मेदवारका लागि निर्वाचन आयोगमा पेश गरेको बन्दसूची पार्टीभित्रै समेत विवादित बनेको हो ।
समानुपातिक उम्मेदवार छान्न गरिएको प्राइमरी इलेक्सनलाई बेकम्मा बनाइएपछि पार्टीकै नेताहरुले असन्तुष्टि पोख्न थालेका छन् ।
गत कात्तिकमा चितवनमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले उम्मेदवार छनोट सम्बन्धी पाँच बुँदे मापदण्ड तय गरेको थियो । तर बन्द सूचीका उम्मेदवार चयन गर्दा उक्त मापदण्ड नअपनाइएको कतियि नेताहरूको आरोप छ ।
नेतृ डा. तोसिमा कार्कीले खुलारुपमा बन्दसूचीप्रति आपत्ति जनाएकी छन् । उनले प्राइमरी इलेक्सनको धज्जी उडाइएको पनि टिप्पणी गरेकी छन् । पदाधिकारी र सचिवालयमा रहेकाहरूले समानुपातिकबाट नाम फिर्ता लिनुपर्ने समेत उनको माग छ ।
सभापति रवि लामिछानेकी बहिनीका रूपमा चिनिने स्वस्तिका लामिछानेले पनि बन्दसूचीप्रति असहमति जनाएकी छन् ।
रास्वपाले बुझाएको समानुपातिक सूचीमा २१ जना चितवन र १४ जना मोरङका छन्। अरु धेरै जिल्ला खाली राखेर २ जिल्लाका मात्रै रोखेको भन्दै आलोचना भइरहेको छ।
यसबीच पार्टीका नेता गणेश पराजुलीले समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइने बताए ।
पराजुलीले अन्तिम समयमा सहमति भएर धेरै काम भएको भन्दै गल्ती भएको स्वीकार गर्दै भने, ‘सहमति अत्यावश्यक थियो, अन्तिम समयमा महत्वपूर्ण काम भए । ‘समानुपातिक सूचीमा भएका गल्ती सच्याइनेछन्। सुशासन र विधि हाम्रो जग हो’, उनले भने ।
सोमबार र मंगलबार समानुपातिकको बन्दसूची दलहरुले निर्वाचन आयोगमा बुझाएका थिए। तर, केही गल्ती भएमा दलहरुले ७ दिनसम्म सुधार गर्न पाउने छन्।




प्रतिक्रिया