काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीको(रास्वपा)को कैलाली जिल्ला अधिवेशन रद्द भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले हालै सम्पन्न कैलाली जिल्लाअधिवेशन रद्द भएको पत्राचार गरेका हुन् ।
उनका अनुसार आवश्यक मापदण्ड पूरा नगरी निर्वाचन गराइएको पाइएकोले अधिवेशन नै रद्द गर्नुपरेको हो । कैलालीमा नयाँ नेतृत्व चयनका लागि छिट्टै अधिवेशनको नयाँ मिति तोकिने छ ।
निर्वाचन प्रक्रियामा आधारभूत विधि र प्रक्रिया पालना नभएको, मतदान तथा मतगणनामा स्थापित नियम उल्लंघन भएको, अधिकांश मुख्य उम्मेदवारहरूले लिखित असहमति जनाउँदै निर्वाचन बहिष्कार गरेको तथा योग्य सदस्य र प्रतिनिधिहरूको सहभागिता सुनिश्चित नभएको पाइएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनअघि नै अध्यक्षका उम्मेदवार हरि रेग्मी र महेश चौधरीले मतदाता नामावलीमा असन्तुष्टि जनाउँदै बहिष्कार गरेका थिए । मध्यराति मतदान गराएर निर्वाचन परिणाम घोषणा गरिएको थियो । उक्त परिणामअनुसार जिल्ला सभापतिमा कवीन्द्र ठकुल्ला निर्वाचित भएका थिए ।






प्रतिक्रिया