रास्वपाले गर्‍यो विधान संशोधन

रास्वपाले गर्‍यो विधान संशोधन


काठमाण्डु- रास्वपाले पार्टीलाई थप समावेशी बनाउने गरी विधान संशोधन गरेको छ । विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्यसमितिमा उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।

जसअनुसार सभापति एक, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री तथा एक महिलासहित पाँच सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ । यसैगरी, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता मनोनयन गरिने छ । अब समिति १५१ सदस्यीय हुनेछ ।

९९ जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ भने ५१ जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ । सात प्रदेशका सभापति स्वतः पदेन सदस्य हुनेछन् । विधानले यसभन्दाअघि कोषाध्यक्ष र प्रवक्ता सभापतिले मनोनित गर्ने गरेकामा अब एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्रीसमेत मनोनित गर्ने व्यवस्था गरिएको छ ।

सबै तहमा महिलाको सहभागिता रहने व्यवस्था गरिएको छ । प्रत्यक्ष निर्वाचित हुने ९९ सदस्यमध्ये एउटा प्रदेशबाट पाँच जनाका दरले केन्द्रीय सदस्य आउनेछन् । प्रदेशबाट आउने ३५ जनामध्ये एउटा प्रदेशबाट दुई महिलाको अनिवार्य उपस्थिति हुनेछ । विधानले वरिष्ठ नेता स्वतः रहने व्यवस्था गरेको छ ।