काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिहरुले अबको नेतृत्व संगठनलाई एकजुट बनाएर लैजान सक्ने हुनुपर्ने बताएका छन् ।
प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन पुगेका अधिकांश प्रतिनिधिहरुले पार्टीको नीति र विधिलाई समेटेर सहि दिशातर्फ लैजानसक्ने नेतृत्व चयन गर्ने बताएका हुन् ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद जगदीश खरेलले पार्टीमा गुट नरहेको स्पष्ट पारेका छन्। उनले महाधिवेशनमा फरक–फरक क्षेत्र, पार्टी र फरक पृष्ठभूमिका व्यक्तिहरू सहभागी भएकाले पार्टीमा विविधता थपिएको बताए।
उनले भने, ‘पहिला असंगठित थियो होला, एउटै रास्वपा छुट्टाछुट्टै थियो होला। अहिले सबै यो महाधिवेशनमा आएपछि साना–साना गुट, उपगुट र समूहहरू एउटै भएका छन्। अब पार्टीमा गुट छैन। रास्वपा विविधताभित्र सम्पूर्णता बोकेको पार्टी हो।’
यस्तै प्रवक्ता मनिष झाले रास्वपा लोकतन्त्र गणतन्त्र सुशासनप्रति कटिवद्ध छ भन्ने महाधिवेशनको उद्घाटनसत्रले देखाएको बताए । उनले विश्वका २४ वटा भन्दा धेरै पार्टीहरुले रास्वपालार्ई स्वीकार गर्दै शुभकामना दिएकाे बताए ।
रास्वपाका सांसद गणेश पराजुलीले रास्वपाको एउटै मात्र उद्देश्य देश निर्माण गर्ने रहेको बताए।
उनले भने, ‘हाम्रो एउटै मात्र उद्देश्य देश निर्माण गर्ने र भ्रष्टाचारलाई जरैदेखि निर्मूल पार्ने हो। सुशासनको सपना यही पुस्ताले पूरा गर्ने हो। केही दल र केही व्यक्तिले रास्वपामा विचार छैन भन्ने गरेका छन्। के छ र के छैन भन्ने कुरा सभापतिको प्रतिवेदनले स्पष्ट पार्नेछ।’
सांसद केपी खनालले रास्वपा सभापतिमा रवि लामिछानेको विकल्प नरहेको बताएका छन्। उनले रास्वपाले यस महाधिवेशनबाट कुशल नेतृत्व चयन गर्ने बताए।
उनले भने, ‘बन्दसत्र सुरु हुँदैछ। बन्दसत्रमा छलफल भएपछि कस्तो नेतृत्व आउनेछ भन्ने थाहा पाइहाल्नुहुन्छ । हामी सुशासनकै पक्षमा लडिरहेका छौँ। जनताले वैकल्पिक राजनीतिको रूपमा रास्वपालाई विश्वास गरेका छन्। त्यो विश्वास टुट्न नदिने नेतृत्व चयन हुनेछ।’
उनले जेन–जीका एजेन्डालाई समेटेर अगाडि बढ्ने पनि बताए। साथै, आफूलाई सुदूरपश्चिमबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएको जानकारी दिए।
यस्तै, सांसद रञ्जु दर्शनाले रास्वपा सभापतिमा रवि लामिछाने नै रहने बताइन्।
उनले भनिन्, ‘सभापतिको आकांक्षी भनेर कोही देखिनुभएको छैन। सभापति रवि लामिछाने नै हुनुहुन्छ। वरिष्ठ नेताको पदमा बालेन्द्र शाह नै हुनुहुन्छ।’
उनले पार्टीमा गुट रहेको विषयमा चलेको चर्चा केवल हल्ला मात्र रहेको बताइन्।
उनले भनिन्, ‘अबको नेतृत्व संगठनलाई एकजुट बनाएर लैजान सक्ने हुनुपर्छ। फुटेर होइन, जुटेर जानुपर्छ। जसले संगठनलाई मिलाएर अगाडि बढाउन सक्छ, उही अबको नेतृत्व हुनुपर्छ। यो महाधिवेशनबाट त्यस्तो नेतृत्व आउनुपर्छ।’
उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएको समेत जानकारी दिइन्।
यस्तै, सांसद रीमा विश्वकर्माले महाधिवेशनलाई लिएर आफू उत्साहित रहेको बताइन्।
उनले भनिन्, ‘पार्टीले वैधानिकता पाउने भएपछि पार्टीका लागि मात्र होइन, व्यक्तिगत रूपमा पनि म उत्साहित छु। रास्वपाले जनताले विश्वास गरेको सुशासन कायम राख्न सक्ने नेतृत्व पाउनेमा म विश्वस्त छु।’
अर्का सांसद् मनिष खनालले पार्टीको नीति र विधिलाई समेटेर सहि दिशातर्फ लैजानसक्ने नेतृत्व चयन हुनेमा आफू विश्वस्त रहेको बताए ।
‘अहिलेको सरकारलाई थप समर्थन गर्न, सहयोग गर्न सक्ने नेतृत्व आउँछ भन्नेमा म आशावादी छु’ उनले भने ।




प्रतिक्रिया