प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी नदिने रास्वपाको निर्णय, ईलाम–२ मा गठबन्धन नगर्ने

प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी नदिने रास्वपाको निर्णय, ईलाम–२ मा गठबन्धन नगर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विगतजस्तै यसपालि पनि प्रदेशसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

बझाङमा प्रदेशसभा सदस्य उपनिर्वाचन हुँदैछ । पछिल्लो प्रदेशसभा चुनावमा पनि रास्वपाले देशैभर उम्मेदवारी दिएको थिएन ।

सोमबार काठमाण्डुमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले इलाम–२ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा भने पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको छ ।

ईलाम–२ मा हुन लागेको उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्ने र पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरिएको महामन्त्री मुकुल ढकालले बताए ।

उपनिर्वाचनमा कुनै पनि दलसँग गठबन्धन र सहकार्य नगर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गरेको छ भने पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई सहयोग गर्दै अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निर्णय गरेको छ ।

सरकारको कार्यसम्पादनको आवधिक समीक्षा गर्ने र पार्टीका विविध मोर्चा सरकार, संसद र संगठनमा सल्लाहका आधारमा सहयोगी टीमहरू गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

रास्वपाले ईलाम–२ को उपनिर्वाचन लक्षित गरेर सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई यसअघि नै खटाइसकेको छ । एमाले सांसद सुवासचन्द्र नेम्वाङको निधनपश्चात् खाली भएको ईलाम–२ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।