रास्वपाले गर्‍यो स्थानीय तहका उम्मेदवार छनोटका लागि ७ उपसमिति गठन

रास्वपाले गर्‍यो स्थानीय तहका उम्मेदवार छनोटका लागि ७ उपसमिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन विभिन्न ७ वटा उपसमिति गठन गरेको छ।

पार्टीका महामन्त्री एवं ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’का संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले उम्मेदवार छनोट रूपरेखाका विभिन्न पक्षमा निर्णय गरेको हो।

बैठकले उम्मेदवार छनोट रूपरेखाको कार्यान्वयन तथा समन्वयका लागि विभिन्न उपसमिति गठन गरेको रास्वपाले जनाएको छ।

जसअनुसार ‘क्यान्डिडेट क्लब’को संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिको संयोजकमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा। तोशिमा कार्कीलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बूलाई जिम्मेवारी तोकिएको छ।

बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिका लागि ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गर्ने निर्णयसमेत गरेको छ।

रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, व्यवस्थित र सहभागितामूलक बनाउने उद्देश्यले उक्त संरचना तयार गरेको जनाएको छ।