स्थापना दिवसमा रास्वपाको चेतावनी-राजीनामा पत्रमा मिति लेख्न मात्रै बाँकी छ

स्थापना दिवसमा रास्वपाको चेतावनी-राजीनामा पत्रमा मिति लेख्न मात्रै बाँकी छ


काठमाण्डु –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार आफ्नो स्थापना दिवस मनाएको छ । त्यस अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताएका छन् ।

रास्वपासँग आम नागरिकहरुको ठूलो आशा रहेको भन्दै रास्वपाले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी गरे ।

रास्वपालाई देश बनाउने, नागरिकको स्तर सुधार्ने ठूलो कार्यभार रहेको बताउँदै उनले उपलब्धि नै भ्रष्टाचारीको ठूला फाइल खोल्नुलाई लिइरहेको पनि दाबी गरे ।

उपप्रधानमन्त्री लामिछानेले पुराना राजनीतिक दलहरुसँग आफ्नो पार्टी मिलेर नगएको र रास्वापाका पदाधिकारी चिन्तित भएर लाग्नु नै पार्टी अघि बढ्नु रहेको बताए ।

७ असारमा रास्वपा गठन भएको दुई वर्ष पुग्दैछ । सोही अवसरमा पार्टीले शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

यस्तै, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताए । राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी रहेको उनको भनाइ छ ।

उनले कुनै पनि कुरामा रास्वपामाथि अनावश्यक, अनाधिकृत हिसाबले सम्झौता गर्न लगाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिरिने चेतावनी दिए ।

उनले वर्तमान राजनीतिक परिस्थितिमा एकपटक सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भएको पनि बताए ।

पार्टी स्थापना दिवस रास्वपाले १ असारदेखि मनाउन सुरु गरेको छ ।