काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असोजमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।
पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार राष्ट्रिय भेला आगामी असोज ३ र ४ गते आयोजना गर्ने निर्णय भएको हो ।
पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्नका लागि आयोजना गरिएको बन्द कार्यशाला शनिबार सम्पन्न भएको छ ।
कार्यशालामा पार्टीको विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्यमान्यता लगायत ६ विधामा छलफल भएको उनको भनाइ छ । पार्टीको महाधिवेशन आगामी वैशाखको तेस्रो हप्तामा आयोजना गर्ने निर्णय भएको छ ।
विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन आगामी भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेश गरिने भएको छ । पार्टीको जिल्ला संयोजक तथा उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेला गरी जिल्ला तदर्थ समिति गठन गर्ने, पार्टीको वाचापत्र लगायत अन्य दस्तावेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने निर्णय पनि कार्यशालाले गरेको छ ।
शासकीय स्वरूपका विषयमा पार्टीभित्र छलफल गरी संविधान संशोधन समेतको विषयलाई दृष्टिगत गरी पार्टीको अवधारणा तयार गर्ने, जनआवाज अभियान सञ्चालन गरी देशभरिको जनगुनासा तथा मुद्दाहरू संकलन गर्ने, सदनमा उठाउने र कार्यान्वयन भए/नभएको अनुमगन गर्ने विषय समेत उल्लेख भएको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए ।
देशका गाउँदेखि विदेशका शहरसम्मका नेपालीसँग भेटघाट अभियानको सुरुआत गर्ने, चरणबद्ध रूपमा स्थानीय छाया सरकार गठनको अभ्यास थालनी गर्ने, आगामी हप्ता सातै प्रदेशमा बन्द कार्यशाला आयोजना र केन्द्रीय बन्द कार्यशालामा सहभागी भएका नेताहरू सहजीकरणका लागि सहभागी हुने रास्वपाले जनाएको छ ।
पार्टीको अर्थ व्यवस्थापन समितिको विस्तार गरी देश विदेशमा रहेका सबैलाई जोड्न पार्टी पिल्लर्सको अवधारणा लागू गर्ने, विधेयक मन्थन विभागलाई संसद्मा दर्ता भएका विधेयकबारे आवश्यकताअनुसार प्रवासमा समेत छलफल चलाई सुझाव संकलन गर्ने लगायत विषय कार्यशालाले केन्द्रीय समितिलाई सुझावका रूपमा प्राप्त भएको पार्टीले जनाएको छ ।




प्रतिक्रिया