काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल कम्पनी मेटा र युट्युबलाई नेपालमा दर्ता प्रक्रियासम्बन्धी जिज्ञासा राख्दै पत्राचार गरेको छ।
सरकारले बिहीबार दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाएको थियो। तीमध्ये प्रयोगकर्ता संख्यामा अगाडि रहेका मेटा र युट्युबलाई लक्षित गर्दै रास्वपाले दर्ता प्रक्रिया र सम्भावित व्यवधानबारे स्पष्टता मागेको हो।
रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यले पठाएको पत्रमा सामाजिक सञ्जाल केवल मनोरञ्जनका लागि नभई शिक्षा, उद्यम, डिजिटल उद्यमशीलता र विदेशमा रहेका नेपाली समुदायसँगको सम्पर्कजस्ता क्षेत्रमा समेत महत्त्वपूर्ण भएको उल्लेख छ।
पत्रमा प्रयोगकर्ताले सामाजिक सञ्जालमार्फत आय आर्जन पनि गर्ने भएकाले यसको दर्ता प्रक्रियाबारे नागरिकलाई स्पष्ट जानकारी गराउनु आवश्यक भएको बताइएको छ। साथै, दर्तामा कुनै प्राविधिक वा कानुनी अवरोध भए, त्यसबारे जानकारी दिन समेत आग्रह गरिएको छ।




प्रतिक्रिया