रास्वपाको पहिलो महाधिवेशनबाट शीर्ष नेतृत्व पक्का : अन्य कुन पदमा को ?

रास्वपाको पहिलो महाधिवेशनबाट शीर्ष नेतृत्व पक्का : अन्य कुन पदमा को ?


चितवन –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनले पार्टीको शीर्ष नेतृत्व पक्का भएको छ। 

चितवनमा जारी महाधिवेशनले सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा बालेन्द्र शाह पक्का भएका छन्। सभापति रवि र वरिष्ठ नेतामा बालेन्द्रका लागि निर्वाचन हुने छैन। 

पार्टी स्रोतका अनुसार अन्य पदाधिकारीहरूका बढीमा सहमति वा निर्वाचन जे भएता पनि उनीहरूको नाम पक्कापक्की भएको छ। 

वरिष्ठ उपसभापतिमा स्वर्णिम वाग्ले चयन भएका छन्। त्यस्तै उपसभापतिमा बालेन्द्र पक्षबाट सुनिल लम्साल र रवि पक्षबाट महिला उपसभापतिमा प्रतिभा रावल पक्का छ।

महामन्त्रीमा रवि पक्षबाट विपिन आचार्य र बालेन पक्षबाट भूपदेव शाह पक्का भएका छन्। भूपदेव यसअघि पनि पार्टीको महामन्त्री थिए। बालेनद्र काठमाण्डु महानगरपालिकाको मेयर हुँदा उनी स्वकीय सचिव थिए। भूपदेवको राजनीतिक यात्रा उज्जवल थापाले सुरू गरेको विवेकशील साझा पार्टीबाट थालनी भएको हो।

विपिन आचार्य भने रास्वपाका संस्थापक हुन्। रास्वपाको दस्तावेजमा आचार्यले सुरूदेखि नै काम गरेका थिए। आचार्याले नेपालमा ‘को बन्छ करोडपति’ रियालिटि शो ल्याएका थिए। त्यसका उनी निर्माता थिए। त्यसैबाट उनलाई धेरैले चिनेका हुन्।

कोषाध्यक्षमा लिमा अधिकारी पुनः दोहोरिने निश्चित भएको स्रोतले जनाएको छ। तर यी पदका लागि पदाधिकारीहरूको नाम भने घोषणा हुन बाँकी छ।

महाधिवेशनले नेतृत्व चयनसँगै संगठन सुदृढीकरण, नीति निर्माण र आगामी निर्वाचन रणनीतिबारे समेत छलफल केन्द्रित गरेको छ। पार्टी नेतृत्वले महाधिवेशनपछि संगठन विस्तार र जनसम्पर्क अभियानलाई प्राथमिकता दिने बताएको छ।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले सहमति र सर्वसम्मत नेतृत्व चयनले पार्टीलाई आन्तरिक रूपमा बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार नयाँ नेतृत्वले पार्टीलाई राष्ट्रिय राजनीतिमा अझ प्रभावकारी रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।