देशलाई नयाँ दिशा दिने अवसर रास्वपालाई छ: उपेन्द्र यादव

देशलाई नयाँ दिशा दिने अवसर रास्वपालाई छ: उपेन्द्र यादव


काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मुलुकलाई नयाँ दिशातर्फ लैजाने ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन्।

आइतबार रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै यादवले विगतका विकृति र विसंगतिबाट मुक्त भएर देशलाई नयाँ मार्गमा अघि बढाउने जिम्मेवारी रास्वपामाथि आएको बताए।

‘अब मुलुक पहिलेका विकृति र विसंगतिलाई त्यहीँ छाडेर नयाँ दिशामा जाने र लैजाने अवसर रास्वपालाई प्राप्त भएको छ,’ उनले भने, ‘यो महाधिवेशनले नयाँ युगको थालनीका लागि महत्वपूर्ण भूमिका खेल्नेछ।’ 

यादवले मुलुकले अहिले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायको खोजी गरिरहेको बताए। त्यसका लागि राजनीतिक दलहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो। 

उनले सुशासन र सामाजिक न्यायलाई विकास तथा समृद्धिको आधारभूत शर्तका रूपमा प्रस्तुत गर्दै रास्वपालाई नयाँ राजनीतिक अभ्यासमार्फत जनअपेक्षा सम्बोधन गर्न आग्रह गरे।

सम्बोधनका क्रममा यादवले संविधान संशोधनको आवश्यकता पनि औंल्याए। 

संविधानमा संघीयता, गणतन्त्र, समावेशीता र धर्मनिरपेक्षताजस्ता महत्वपूर्ण उपलब्धि समेटिए पनि अझै केही प्रावधान अधुरा, अपूरा र विरोधाभासपूर्ण रहेको उनको धारणा थियो।

‘संविधानलाई संशोधन र परिमार्जन गरी त्यसमा रहेका कमजोरी, विकृति र विसंगतिलाई हटाउनु आजको आवश्यकता हो,’ उनले भने।

यादवले रास्वपाको प्रथम महाधिवेशनले मुलुकको राजनीतिक परिवर्तन र नयाँ सुरुवातका लागि ऐतिहासिक निर्णय गर्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिएका छन्।