काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक छानबिन नभएको भन्दै दुवै दलले यस्तो कदम चाल्न बाध्य भएका हुन्।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउँदै लगत्तै रास्वपा र राप्रपाका सांसदहरूले विरोध स्वरूप उठेर बैठक बहिस्कार गरे।
रास्वपा सांसद शिशिर खनालले आफ्ना भनाइ राख्दै भिजिट भिसा प्रकरणमा मागअनुसार समिति नबनेको भन्दै विरोध जारी राख्ने बताए।
त्यसैगरी, राप्रपाकी सांसद विना लामा पनि भिजिट भिसा प्रकरणमा माग पुरा नभएसम्म विरोध जारी राख्ने र बहिस्कारको दिनको भत्ता नलिने स्पष्ट पारिन्।
संसद बैठकमा दुवै दलका सांसदहरू बोलेपछि उनीहरू बैठक कक्षबाट बाहिरिएका छन्।
भिजिट भिसा सेटिङ प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति वा न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गर्दै रास्वपा र राप्रपाले गत जेठ १३ गतेदेखि संसदमा विरोध गरिरहेका छन्।




प्रतिक्रिया