काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवा द्वन्द्वकालका सहिद परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ । साथै प्रहरीले उनी विप्लवका कार्यकर्ता नभएको स्पष्ट पारेको छ ।
गत आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रचण्डलाई जुम्लाका २२ वर्षे युवा तिरुवाले प्रचण्डलाई ताकेरै जुत्ता प्रहार गरेपछि उनीमाथि अनुसन्धान गर्न प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
मञ्चमै रहेका प्रचण्डलाई जुत्ताले लाग्न भने पाएको थिएन । तिरुवालाई प्रहरीले कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिएको थियो ।
‘उनका बुवा माओवादी द्वन्द्वकालमा मारिएको हुँदा उनी सहिद परिवारकै सदस्य रहेको पाइयो । तर, उनी विप्लवका कार्यकर्ता भएको पाइएन,’ थापाले भने । प्रतिवेदनका अनुसार उनका बुवा द्वन्द्वकालमा राज्यपक्षबाट मारिएका थिए ।
शहिद परिवारको योगदानका बावजुद पनि उनीहरुलाई उचित सम्मान नगरेको ती युवाको गुनासो रहेको थापाले बताए ।
समितिमा प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटी र सिंहदरबार वृत्तका प्रहरी निरीक्षक युवराज तिमल्सिना रहेका छन् ।
नेकपा जुम्लाले भने प्रचण्डमाथि जुत्ता प्रहार गरेको समाचार आएपछि विज्ञप्ती निकाल्दै तिरूवा विप्लव पार्टीको कार्यकर्ता रहेको दाबी गरेको थियो ।
त्यस्तै द्वन्द्वकालमा मारिएका भनिएका तिरूवाका बुबा पनि सहिद नरहेको विज्ञप्तीमा उल्लेख थियो ।




प्रतिक्रिया