राउटेको दशैँमा बलि अनिवार्य, बलि नदिए पुरुषलाई नोक्सानी हुने ‘अन्धविश्वास’

राउटेको दशैँमा बलि अनिवार्य, बलि नदिए पुरुषलाई नोक्सानी हुने ‘अन्धविश्वास’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशभर दशैँको चहलपहल बढिरहेको छ । विदेशिएका नेपालीहरू दशैँ मनाउनको लागि स्वदेश फर्किरहेका छन् । नेपालीहरूको महान  चाड दशैँमा अरु भन्दा पनि विशेष गरेर मासुलाई बढी प्राथमिकतामा राखिन्छ । आर्थिक अवस्था कमजोर भएकाहरूले  सापटी मागेर पनि मासु खाने गर्छन् ।

यता राउटे समुदायका प्रत्येक घरले दशैँमा कुल देवता र वन देवतालाई अनिवार्य रूपमा बलि चढाउने गर्छन्। अरू समुदायमा अष्टमीका दिन बलि दिने चलन भए पनि वर्षौँदेखि फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायमा भने नवमीमा खसीबोका वा बाख्राको बलि दिने चलन रहेको छ ।

बलिको लागि आवश्यक खसीबोका, बाख्रा, कुखुरालगायत अन्य आवश्यक सामानहरू औँसीको दिनभित्रै उनीहरूले किनिसक्छन् । बलि दिनको लागि चाहिने खसीबोका, बाख्रा, कुखुरा राउटेहरूले औँसीको दिन भन्दापछि किन्दैनन् । मष्ट देवता मान्ने राउटेहरूमा दशैँमा बलि दिने खसीबोका र बाख्रा औँसीको दिनसम्म घरमा ल्याएर कुल र वन देवतालाई बलि नदिए पुरुषहरूलाई हानि नोक्सानी हुने विश्वास गर्छन् ।

विगतमा बस्तीका सबै मिलेर एउटा खसीबोका र बाख्राको बलि दिँदै आएका राउटेहरू पछिल्लो समय भने एउटै घरले २-२ वटा सम्म बलि चढाउँछन् । अरू समुदायले बलिको रूपमा बोका चढाउने गरेपनि राउटेहरू भने बलिका रूपमा खसीबोका, बाख्रा जे पनि चढाउन मिल्ने बताउँछन् । राउटे समुदायले दशैँमा खसीबोका, बाख्राको साथै काँक्रा र कुभिन्डाको पनि बलि दिन्छन्। दशैँमा उनीहरूले मासु भात, जाँड र सेल रोटीहरू खान्छन् ।