रौतहटमा बढ्यो चुनावी सरगर्मी, मावध नेपाललाई छैन सजिलो

रौतहटमा बढ्यो चुनावी सरगर्मी, मावध नेपाललाई छैन सजिलो


काठमाण्डु – शीर्ष नेताहरू, पूर्वमन्त्रीहरू र नयाँ अनुहारहरू यतिबेला मतदाताको विश्वास जित्न घरदैलो अभियानमा व्यस्त छन् ।

रौतहट–१ मा यसपटक निकै रोचक प्रतिस्पर्धा देखिएको छ । त्यहाँ पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सह–संयोजक माधवकुमार नेपाल चुनावी मैदानमा छन् ।

उनीसँगै नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वनगर प्रमुख अजय कुमार गुप्ता प्रतिस्पर्धामा छन् । कांग्रेसको तर्फबाट पूर्वउद्योगमन्त्री अनिल कुमार झा, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को साझा उम्मेदवारका रूपमा मधेश प्रदेशका पूर्वकृषि राज्यमन्त्री योगेन्द्र राय यादव पनि घरदैलोमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजेश चौधरी, जनमत पार्टीका देवेन्द्र मिश्र, आम जनता पार्टीका त्रिभुवन साह र जन अधिकार पार्टीका संजय यादव पनि सक्रियताका साथ मतदाता रिझाउन व्यस्त देखिन्छन् ।यस क्षेत्रमा विकास र पूर्वाधार निर्माणलाई नै सबै उम्मेदवारले मुख्य प्राथमिकतामा राखेका छन् ।

यसपटक यस निर्वाचनमा नेकपाका नेपाललाई गाह्रो हुने देखिएको छ । २०७९को निर्वाचनमा कांग्रेससँगको गठबन्धनका कारण जित हासिल गरे पनि यस पटक सबै दल अलग अलग उम्मेदवार भएकाले नेपालको अवस्था खस्केको छ ।

माओवादी केन्द्रसँग एकता गरेर नेकपा बनाएपछि पनि गत निर्वाचनको समानुपातिकको हेर्दा दुवै दलको कुल मत ११ हजार रहेको छ । सो मत सबै पाएपनि जितका लागि पर्याप्त हुने देखिदैन ।

त्यसैले यस निर्वाचनमा रौतहट– १ मा एमाले र कांंग्रेसको प्रतिस्पर्धा हुने देखिएको छ । गत निर्वाचनमा एक्लै चुनाव लड्दा पनि एमालेका अजय कुमार गुप्ताले २६ हजारभन्दा बढी मत प्राप्त गरेकाले उनी यस चुनावमा राम्रो अवस्थामा देखिएका छन् ।

साथै जसपा नेपाल र जनमतका उम्मेदवारले कति मत प्राप्त गर्छन् भन्नेमा पनि यस क्षेत्रको चुनावको नतिजा आउने देखिन्छ ।
यस्तै रौतहट–२ मा पनि चुनावी प्रतिस्पर्धा तीव्र छ । त्यहाँ नेपाली कांग्रेसका तर्फबाट डा.मोहम्मद फिर्दोस आलम र नेकपा एमालेका मोहम्मद अतिउल्लाहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वसांसद किरण कुमार साह, जसपाबाट राम आशिस यादव, रास्वपाबाट शेख सगीर र आम जनता पार्टीबाट भगवान पटेल पनि चुनावी मैदानमा उत्रिएका छन् ।

रौतहट–३मा आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह पुनः आफ्नो वर्चस्व जोगाउने दाउमा छन् । उनलाई टक्कर दिन यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीकी पुनम यादव र नेकपा एमालेले पूर्वप्रदेश सांसद कुन्दन कुशवाहालाई मैदानमा उतारेको छ ।

रास्वपाका रविन्द्र पटेल धिरज, नेपाली कांग्रेसले राम कृपाल यादव, जसपाका गोविन्द चौधरी, जनमतका शेख प्रबेज आलम र नेमकिपाकी रेखा पटेल पनि मतदाताको घरदैलोमा पुगेर आफ्नो पक्षमा जनमत सिर्जना गर्न लागिपरेका छन् ।

रौतहट–४ यसपटक देशभरिकै ध्यान तान्ने क्षेत्र बनेको छ । त्यहाँ पूर्व सञ्चारकर्मी ऋषि धमला आम जनता पार्टीबाट चुनावी मैदानमा होमिएका छन् ।

धमलाको उम्मेदवारीले यस क्षेत्रको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । यहाँ नेपाली कांग्रेसका देव प्रसाद तिमिल्सिना, नेकपा एमालेका रामजी साह, नेपाली कम्युनिष्ट पार्टीका राम कुमार भट्टराई र रास्वपाका गणेश पौडेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

उम्मेदवारहरूले बेरोजगारी समस्या समाधान, शिक्षा र स्वास्थ्यमा सुधारका प्रतिवद्धताहरू मतदातासामु राखिरहेका छन् ।सबै क्षेत्रका उम्मेदवारहरूले रौतहटको पिछडिएको क्षेत्रको विकास, सडक सञ्जालको विस्तार, सिँचाइ र शिक्षामा सुधारलाई नै आफ्नो चुनावी नारा बनाएका छन् ।