आज पर्सामा रवि लामिछानेको बयान हुँदै

आज पर्सामा रवि लामिछानेको बयान हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि पर्सा लगिएको छ ।

वीरगञ्जको सानो पाइला सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानका लागि सोमवार लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत पर्सा पुर्‍याइएको हो ।

मंसिर १९ गते पर्सा जिल्ला अदालतले सानो पाइला सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित १४ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । सो पक्राउ पुर्जीको आधारमा थप अनुसन्धानको लागि लामिछानेलाई पर्सा लगिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले सोमबार बेलुकीपख लामिछानेलाई थप अनुसन्धानको लागि पर्सा ल्याइएको जानकारी दिए । ‘रास्वपाका सभापति लामिछानेलाई सानो पाइला सहकारीको विषयमा थप अनुसन्धानको लागि पर्सा जिल्ला ल्याइएको हो’, उनले भने, ‘आवश्यक कानुनी प्रक्रिया पूरा गरेर सरकारी वकिलको कार्यालयमा आज बयानका लागि लैजानेछौँ ।’

पर्सा प्रहरीले सानो पाइला सहकारी प्रकरणमा जोडिएका गोर्खा मिडिया तत्कालीन उपाध्यक्ष छविलाल जोशी बन्जाडे र रामबहादुर खनाललाई स्थलमार्गबाट आइतबार मध्यरातमा पर्सामा ल्याइएको जानकारी दिए ।

तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब रू आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ । कास्की, रूपन्देही, काठमाडौँ र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेर जिल्ला–जिल्लामा बयान लिने क्रम जारी छ ।