काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर बोलन शाह ७ बुँदे सहमति गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्ने निर्णय गरेपनि उनी कुनै पनि जिम्मेवारीमा नबस्ने भएका छन् ।
बालेन निकट स्रोतका अनुसार पार्टीमा उनी कुनै पदीय जिम्मेवारी नलिने गरी साधारण सदस्यमा मात्र रहनेछन् । उनी पार्टीको दोस्रो वरीयतामा बस्ने छन् ।
रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबीच आइतबार बिहान ७ बुँदै सहमतिमा हस्ताक्षर भएको छ । हस्ताक्षर पछि बालेन राजनीतिक दलमा आबद्ध भएका छन् ।
बालेनले अहिले कुनै पनि पद नमागे पनि पार्टीमा दोस्रो वरीयता रहने भएको हो । स्रोतका अनुसार उनले केन्द्रीय समितिमा सदस्य मात्रै बस्ने बताएका हुन् ।
रास्वपामा हाल सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल र स्वर्णीम वाग्ले क्रमशः वरीयतामा छन् ।
सहमतिअनुसार बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने छ । फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चनावी मैदानमा जानेछ ।
यस्तै बालेनसँग भएको सहमतिअनसार अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ । बालेन पक्षका व्यक्तिहरूलाई संलग्न गरेर त्यसकोविवरण निर्वाचन आयोगमा अद्यावधिक गरिने भएको हो ।
सहमतिपत्रको बुँदा नम्बर ६ मा भनिएको छ, ‘यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने ।’
रास्वपाको संरचनालाई थप सक्षम र फराकिलो बनाउनका लागि युवा अभियन्ता र अनुभवी विज्ञलाई ल्याइने छ ।
‘बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,’ सहमतिपत्रमा उल्लेख छ ।




प्रतिक्रिया