योगदानको हिसाब-किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि अहितकर : सभापति लामिछाने

योगदानको हिसाब-किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि अहितकर : सभापति लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पदको अपेक्षा राख्ने र योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताएका छन् ।

सभापति लामिछानेले पार्टीको जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर पाउने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति देखिएको पनि टिप्पणी गरेका छन् ।

पार्टीको जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले यस्तो प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आवश्यकता भएको उल्लेख गरेका हुन्।

रास्वपाको पहिलो महाधिवेशनको प्रक्रिया अन्तर्गत वडा र पालिका तहका अधिवेशनहरू सम्पन्न भई शनिबार र आइतबारजिल्ला अधिवेशनहरू भइरहेका छन्। रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ।

यसै सन्दर्भमा सभापति लामिछानेले अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभएर पार्टीको अनन्तकालीन जीवन, विधि–पद्धति, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर भएको बताएका छन।

पार्टी हितका लागि सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको भन्दै उनले संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिहरू अपनाएर नेतृत्व चयन गरिनु नै रास्वपाको संस्कार भएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘हामीले रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य लिएका छौं। त्यसका लागि विचार मात्र होइन, हाम्रो शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्छ। पुरानै सोच, शैली र प्रवृत्ति बोकेर हामी नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न सक्दैनौं।’

अब रास्वपाको लक्ष्य वैकल्पिक शक्ति बन्ने मात्र नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेको उनले लेखेका छन् ।

लामिछानेले लेखेका छन्, ‘अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो। त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ। तर, संगठन विस्तार हुँदा म रहन्न कि भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्छ। पार्टी ठूलो हुँदा हामी सबैको भूमिका अझ अर्थपूर्ण हुन्छ।’

राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने भन्दै लामिछानेले अब मबाट हामीमा रूपान्तरण हुने बेला आएको बताएका छन्।