काठमाण्डु-उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुको कारणसहितको प्रतिवेदन पेस गर्न आदेश गरेको छ ।
न्यायाधीश राजकुमार खतिवडाको मंगलबार बसेको इजलासले सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित ७ जनालाई छाड्ने आदेशको कैफियत प्रतिवेदन पेश गर्न आदेश दिएको हो ।
उच्च सरकारी वकिलको कार्यालयले जिल्ला अदालतले उनीहरूलाई धरौटीमा छाड्ने आदेश बेरितको भएकाले उक्त आदेश बदर गरी थुनामै राख्न मागसहित उच्च अदालतमा सोमबार निवेदन दिएको थियो ।
पुस २५ गते जिल्ला अदालत कास्कीले रवि लामिछानेसहित सातै जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । अदालतले लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको थियो भने अन्य व्यक्तिहरूबाट फरकफरक रकम माग गरिएको थियो ।
धरौटी रकम बुझाएर सोही दिन छ जना र भोलिपल्ट लिला पछाई रिहा भएका थिए । पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसँग सबैभन्दा धेरै ८८ लाख रुपैयाँ धरौटी माग गरिएको थियो ।
सूर्यदर्शन सहकारी प्रकरणसँगै स्वर्णलक्ष्मी सहकारी ठगी मामिलामा पनि रवि लामिछाने ६० लाख धरौटी बुझाएर छुटेका छन् ।




प्रतिक्रिया