काठमाण्डु- सहकारी ठगी प्रकरणमा अदालतको आदेशअनुसार हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नख्खु कारागारबाट नक्क्ली पत्र बनाएर बाहिरिएको खुलेको छ ।
जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा मंगलबार नख्खु कारागारबाट निस्किएका सभापति लामिछानेले प्रशासनबाट अनुमति लिएर बाहिरिएको बताएका थिए । उनले कारागार प्रशासनले दिएको पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।
तर नख्खु कारागार प्रशासनले लामिछानेले सार्वजनिक गरेको पत्र नक्कली भएको जनाएको छ । कारागार प्रशासन प्रमुख सत्यराज जोशीका अनुसार प्रशासनले उनलाई रिहा भएको कुनै आधिकारिक पत्र नै दिएको छैन ।

कारागारबाट निस्कदा रविको पत्र
प्रमुख जोशीले भने, ‘हामीले उहाँलाई रिहा भएको कुनै पनि प्रकारको पत्र दिएका छैनौ ।’ उनले लामिछानेले सार्वजनिक गरेको पत्रको कुनै पनि अंश मिलेको नदेखिएको पनि बताए । उनले भने, ‘त्यो पत्र कहाँबाट कसरी ल्याउनुभएको मलाई थाहा भएन ।’ यता कारागार प्रशासनले लामिछानेलाई तत्काल सम्पर्कमा आउन पनि अनुरोध गरेको छ।
लामिछानेले भने पत्र पाएपछि कारागारको अनुमतिमा आफू त्यहाँबाट निस्किएको दाबी गरेका थिए ।
रास्वपा सभापति नख्खु कारागारबाट बाहिरिएपछि देशभरका विभिन्न कारागारबाट कैदीबन्दीहरू भागेका थिए। भागेका कैदीबन्दीहरूलाई तत्काल सम्पर्कमा आउन सम्बन्धित कारागार र नेपाल प्रहरीले निर्देशन दिएको छ।
लामिछानेले आफू कारागार प्रशासनको अनुमति पत्र लिएर जेलबाट बाहिर आएको दाबी गरेका थिए। उनले प्रहरी प्रशासन र कारागारले बोलाएका बेला आफू जहाँ जान पनि तयार रहेको बताएका छन्।
प्रशासनले शुक्रबार विज्ञप्ति जारी गरेर फरार भएका सबै थुनुवा र कैदीलाई सम्पर्कमा आउन आग्रह गरेको हो।
‘भदौ २४ गते नक्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरू (थुनुवा र कैदी)लाई यस कारागार प्रशासनको आधिकारिक सम्पर्कमा अविलम्ब उपस्थित भई प्रचलित कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न यसै सार्वजनिक अपिलमार्फत हार्दिक अनुरोध गर्दछौँ,’ कारागार प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
फरार भइरहे कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने मात्र नभई भविष्यमा प्राप्त हुनसक्ने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनः स्थापना प्रक्रियामा समेत गम्भीर प्रतिकूल असर पर्न सक्ने पनि कारागार प्रशासनले चेतावनी दिएको छ।
‘विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क गरी आत्मसमर्पण गर्न पनि आग्रह गरिएको छ। ‘सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पुर्याउन सम्पूर्ण फरार कैदीबन्दीहरूलाई यसै सूचनामार्फत औपचारिक रूपमा अपिल गरिन्छ,’ सूचनामा भनिएको छ।

कारागार प्रशासनको पत्र
साथै नख्खु कारागारबाट फरार भएका जनकपुर बमकाण्डमा दोषी ठहरिएर सजाय भुक्तान गरिरहेका सञ्जय साह (टकला) भने फर्किएका छन्। साह कारागारबाट फरार भएर आफ्नो घर जनकपुर पुगेका थिए। उनलाई प्रहरीले काभ्रेको मंगलटारबाट पक्राउ गरेको थियो।
त्यस्तै भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि सुन्धारा कारागारमा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि त्यही राति भागेका थिए। उनी पनि अहिलेसम्म कारागारको सम्पर्कमा आएका छैनन् ।




प्रतिक्रिया